“नेपाली जनसम्पर्क समिति” मलेसियाको चौथो अधिवेशन सम्पन्न, सभापतिमा पुनः चोलाकान्त पंगेनी निर्विरोध।

काठमाडौं : नेपाली कांग्रेस पार्टीको विदेश संगठन “नेपाली जनसम्पर्क समिति” मलेसियाको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। यहीँ ४ जनवरी २०२६ आइतबारका दिन सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रम सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा तथा प्रमुख अतिथि किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा मलेसियास्थित नेपाली राजदूतावासका प्रथम सचिव सुशील घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, विशेष अतिथिमा विनोद थापा रहेका थिए। अधिवेशन कार्यक्रममा प्रमुख अतिथि किरणराज शर्मा पौडेल विभिन्न कारणले प्रत्यक्ष उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए आरसी हरि भट्टराई, राप्रपा नेता योगेन्द्र कुँवर, एनआरएनए मलेसियाका अध्यक्षद्वय इन्द्र नारायण लिम्बु र राकेश प्रसाद महतो, नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका महासचिव सन्जिव तामाङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ “फोनिज” शाखा मलेसियाको का.वा.अध्यक्ष आरएन चौधरी थारु , थाकस मलेसिया सभापति प्रकाश चौधरी, हेल्प मधेसी मलेसिया अध्यक्ष प्रमोद कुमार महतोलगायत मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँगै नेपाली श्रमिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनको विकल्प नरहेको बताए। उनले प्रवासमा रहेका संगठनहरूले केन्द्रलाई सुझाव दिँदै गठबन्धन कायम गराउन पहल गर्नुपर्नेमा जोड दिए। अन्य वक्ताहरूले पनि मलेसियामा स्थापित संघ–संस्थाहरूले श्रमिकहरूको हकहित र समस्याका लागि सौहार्दपूर्ण र प्रभावकारी काम गर्न आग्रह गरेका थिए।

चौथो अधिवेशन कार्यक्रमबाट नेपाली जनसम्पर्क समिति मलेसियाको सभापति पदमा पुनः चोलाकान्त पंगेनी नै सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन्। समितिको वरिष्ठ उपसभापतिमा क्रमशः कमल प्रसाद गौतम, उपसभापति टेक बहादुर टमटा, हरि प्रसाद कोइराला, गणेश बहादुर राउत, सन्तोष पौडेल, ज्ञानेन्द्र ब. शाही र डम्बर ओखडा सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै अधिवेशनले महामन्त्री पदमा सरोज दाहाल, मिलन लामा, सह-महामन्त्री तिलज चन्द, रामकुमार यादव, देवराज घिमिरे र कोषाध्यक्ष इन्द्रप्रकाश भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। सदस्यहरूमा क्रमशः दिपक अधिकारी, यज्ञकुमार राई, घनश्याम चौधरी, रुकेश गाहा मगर, रमेश भण्डारी, पुष्कर खड्का, छेवाङ लामा, इन्दु बस्नेत, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल र गणेश बिष्ट निर्विरोध निर्वाचित भएका हुन्।