नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत अधिकाँस नेता,कार्यकर्ता रास्वपामा प्रवेश।

काठमाडौं:= राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा सम्पन्न भएको छ । नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, नाउपा वरिष्ठ उपाध्यक्ष राजेश अधिकारी, कोषाध्यक्ष कोमल ज्ञवाली, महासचिव ठाकुरसिंह थारू, सचिव तुलसी चौधरी, लक्ष्मण थारू, नाउपा संस्थापक केन्द्रीय सदस्य सुरेन्द्र चौधरी र थरुहट-थारूवान आन्दोलन अभियानी जीवन धामी चौधरी रास्वपामा मिसिनुभएको हो ।

एकता सभामा रास्वपा सभापति रवि लामिछाने र नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, वरिष्ठ उपाध्यक्ष राजेश अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी शक्तिहरू मिलेर नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको उल्लेख छ ।

सभालाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनमा चमत्कार गर्ने बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा लामिछानेले आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने दाबी गर्नुभयो । आगामी निर्वाचनलाई लक्षित गरेर पार्टी एकढिक्का भएर लाग्नुपर्ने पनि सभापति लामिछानेको भनाइ थियो ।

‘इतिहासको यो संगीन मोडमा देशले एउटा राम्रो इतिहास लेख्न गइरहेको बेलामा डिस्टर्ब गर्ने होइन,’ उहाँले भन्नुभयोे, ‘ब्यालेट बक्समा भेटौँ । ब्यालेट खोलौँ । ब्यालेटले यो देशको भविष्य निर्धारण गर्नेछ । ब्यालेटमा मतपत्रमा अलमल नगरीकन घण्टीमा हाल्नका लागि हामी तयार छौँ । हामी यसपटक साँच्चै नै म्याजिक गर्ने तयारीमा छौँ ।’ पार्टीमा गुट-उपगुट हुन नहुने लामिछानेको भनाइ थियो । ‘पार्टीभित्र गुट–उपगुटको कुरा गर्ने युगबाट हामी बाहिर निस्किनुपर्छ ।

योगदानको मूल्य माग्ने बेला भएको छैन । देशलाई योगदान दिने बेला भएको छ । नयाँ जोडिएका साथीहरूमाथि अन्याय हुने छैन, यो ग्यारेण्टी भयो,’ उहाँले भन्नुभयो । नागरिक उन्मुक्ति पार्टीका पदाधिकारी र थारू अभियन्ताहरूलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा लामिछानेले नेताहरूलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो । चुनावलाई लक्षित गरेरभन्दा पनि देशको अवस्था बदल्नका लागि पार्टीमा आउन उहाँले आह्वान गर्नुभएको थियो ।

उहाँले पार्टी अब बसैको लाभको लागिभन्दा पनि देशको लागि खर्च गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘के पाउँछु ? भनेर बैठक बस्ने होइन, के दिने ? भनेर बैठक बस्दा सफल हुन्छ । त्याग गर्नेहरूको सूची बनाउँदा पहिलो नम्बरमा मेरो नाम हुने कुरा दर्ज गराइसकेको छु । नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने प्रयास जारी नै छ ।लामिछानेले आगामी निर्वाचनपछि डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गर्नुभएको छ ।

उहाँले उपसभापति वाग्लेलाई सम्बोधन गर्दै भन्नुभयो, ’देशभरबाट जुन उत्साह र ऊर्जा रास्वपाप्रति देखिएको छ, त्यसलाई हेरेर यति चाहिँ भन्न सक्छु- डाक्टर साहेब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस् ।’ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनावमा जान लागेको रास्वपाले पहिलोपटक डा. वाग्लेलाई अर्थमन्त्री बनाउने घोषणा गरेको हो । उहाँले पुराना दलका नेता-कार्यकर्तालाई कटाक्ष नगर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।