एसिया कप उपाधीका लागि पहिलोपटक दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने भिड्दै।

दुबई:= ४० वर्षको इतिहास बोकेको एसिया कप क्रिकेट प्रतियोगिता आज (आइतबार) ऐतिहासिक मोडमा प्रवेश गर्दैछ । उपाधिका लागि पहिलोपटक दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुने भएका छन् । निर्णायक भिडन्त युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ सुरु हुनेछ । बिहीबार सम्पन्न सुपर-४ चरणको खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

त्यसपछि शुक्रबार भएको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनायो। यसअघि समूह चरणमै दुवै टोली आमने-सामने भएका थिए, जहाँ भारतले ७ विकेटको सहज जित निकालेको थियो । सुपर-४ चरणमा पनि भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रोपटक एउटै प्रतियोगितामा भिड्दै गर्दा अब उपाधि नै थाप्ने अवसर दुवै टोलीलाई मिलेको छ ।

ऐतिहासिक पृष्ठभूमि

सन् १९८४ मा सुरु भएको एसिया कपमा अहिलेसम्म १६ संस्करण सम्पन्न भइसकेका छन् । भारतले आठपटक उपाधि जितेको छ भने पाकिस्तान दुईपटकमात्र च्याम्पियन बन्न सफल भएको छ । पाकिस्तानले अन्तिमपटक सन् २०१२ मा उपाधि जितेको थियो । भारत भने पछिल्लोपटक २०२३ मा विजेता बनेको हो । यद्यपि, प्रतियोगिताको लामो इतिहासमा भारत र पाकिस्तान पहिलोपटक फाइनलमा आमने–सामने हुँदैछन् ।

विश्व क्रिकेटमै चर्चित भारत-पाकिस्तान प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको छ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुवै टोलीबीच सन् २००७ यता १५ पटक भिडन्त भएको छ । भारतले ११ खेलमा जित निकालेको छ । पाकिस्तान तीनपटक विजयी भएको छ । एक खेल बराबरीमा सकिएको छ ।

पछिल्ला चारै खेलमा भारत विजयी बनेको छ । यसै कारण भारतीय कप्तान सूर्यकुमार यादवले अघिल्लो खेलपछि टिप्पणी गर्दै ‘भारत र पाकिस्तानबीचको टी-२० खेललाई प्रतिद्वन्द्विता भन्न मिल्दैन, किनकि भारत नै हावी रहँदै आएको छ,’ भन्नुभएको थियो ।

आजको फाइनलले केवल उपाधि जित्नेमात्र नभई ऐतिहासिक महत्व पनि राख्नेछ । दशकमै पहिलोपटक दुई चिरप्रतिद्वन्द्वी फाइनल खेलमा भिड्दै गर्दा दुबई रंगशाला दर्शकले खचाखच हुने अपेक्षा गरिएको छ । भारतले जित निकाल्दै आफ्नो नवौँ उपाधि जित्ने लक्ष्य लिएको छ भने पाकिस्तान एक दशकभन्दा लामो खडेरी तोड्दै तेस्रोपटक एसिया कप हात पार्ने मनसायमा मैदान उत्रिनेछ ।

यसअघि शुक्रबार राती भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ । पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०२ रनको विशाल योगफल खडा गर्‍यो । भारतका युवा ओपनर अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ६१ रनको योगदान दिनुभयो । उहाँले ३१ बलको सामना गर्दा आठ चौका र दुई छक्का प्रहार गर्नुभयो । त्यस्तै, तिलक बर्माले नटआउट ४९ रन बनाउनुभयो भने कप्तान सूर्यकुमार यादवले ३४ रन जोड्नुभयो ।

जवाफमा मैदानमा उत्रिएको श्रीलंका समान पाँच विकेट गुमाउँदै २०२ रनमै रोकियो । श्रीलंकाका लागि ओपनर पथुम निस्सान्काले उत्कृष्ट इनिङ खेल्दै शतक पूरा गर्नुभयो । उहाँले ५८ बलमा सात चौका र छ छक्का प्रहार गर्दै १०७ रनको सानदार योगदान दिनुभयो । साथै, कुशल परेराले ३२ बलमा आक्रामक ५८ रन बनाउनुभयो ।

खेल बराबरी भएपछि सुपर ओभरमा टस जितेर पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले भारतको धारिलो बलिङ सामना गर्न सकेन । श्रीलंकाले दुई विकेट गुमाउँदै जम्मा दुई रनमात्र बनाउन सक्यो । मात्र तीन रनको लक्ष्य पाएको भारतका लागि सुपर ओभरको पहिलो बलमै कप्तान सूर्यकुमार यादवले तीन रन जोड्नुभयो र सहज जित सुनिश्चित गर्नुभयो । एजेन्सी