काठमाडौं:= शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन्। दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने ।
दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए । ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने ।
शिक्षकलाई कसले खुवाउँछ तलब?
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब स्थानीय तहले खुवाउने व्यवस्था छ। मासिक रूपमा तलब नदिइएको गुनासो बढेपछि शिक्षा मन्त्रालयले २०८१ मंसिर १७ गते सामान्य प्रशासन मन्त्रालयलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलबभत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलबभत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गर्न आग्रह गरेको थियो।
सोहीअनुसार सामान्य प्रशासन मन्त्रालयले सोही वर्षको मंसिर २० गते सबै स्थानीय तहलाई परिपत्र गरेको थियो। यद्यपि शिक्षकले मासिक तलब नआएको गुनासो गर्दै आएका छन्।