क्वालालम्पुर (मलेसिया):= मलेसियन अध्यागमन विभाग इमिग्रेशन (JIM) ले राजधानीको जलान सुल्तान अजलान शाह अर्थात पछिल्लो समय ‘लिटिल पाकिस्तान’ भनेर चिनिने क्षेत्रमा ठूलो अभियान सञ्चालन गरी छापामारी गर्दा १९६ अवैध आप्रवासी कामदारहरुलाई पक्राउ गरेको छ।
क्वालालम्पुर अध्यागमन विभागका निर्देशक वान मोहम्मद सौपी वान युसोफका अनुसार अध्यागमनद्वारा गत बुधबार राति ०९:०० बजेदेखि ११:३० बजेसम्म चलेको अपरेसनमा रेष्टुरेन्ट, किराना पसल र होटलसहित ४५ व्यवसायिक स्थल चेक गरिएको थियो।
जाँच गरिएका ४०० मध्ये १९६ जना विदेशी आप्रवासी पक्राउ परेका छन्, जसमा १८४ पुरुष र १२ जना महिला रहेका छन्। पक्राउ पर्नेहरूमा १५० पाकिस्तानी, २१ बंगलादेशी, १० भारतीय, ६ इन्डोनेशियाली, ४ नेपाली, २ जोर्डानी, २ फिलिपिनी र १ श्रीलंकाली समावेश छन्। उनीहरूको उमेर १२ देखि ६० वर्षको बीचमा रहेको बताइएको छ।
सौपीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई आप्रवासन ऐन १९५९/६३ को धारा ६(१)(c) र धारा १५(१)(c) अन्तर्गत कानुनी कारबाही हुनेछ। जाँचका क्रममा उनीहरूमध्ये धेरैजना वरपरका पाकिस्तानी खानपान पसलहरूमा काम गरिरहेको पाइएको थियो।
कारबाहीका क्रममा केही व्यक्तिले भाग्ने प्रयास गरे पनि सबै पक्राउ परेका छन्। “केहीले छाड्दिनु भन्दै रुने अभिनय गरे, कतिपयले बेहोसको नाटकसमेत गरे। प्रहरीले खोजतलास गर्दा केही व्यक्तिसँग ठूलो मात्रामा एक रिङ्गिटका नोट भेटिएको छ, जसले उनीहरू सडकमा भिख माग्ने गरेको शंका गरिएको छ,” उनले भने।
यसैबीच, तीन जना स्थानीय रोजगारदाता मालिकलाई समेत अवैध आप्रवासीलाई रोजगारी दिएको आरोपमा पक्राउ गरिएको छ। उनीहरूमाथि धारा ५६(१)(d) र ५५B अन्तर्गत अनुसन्धान भइरहेको छ।
अभियानमा क्वालालम्पुर महानगर DBKL ले ५२ वटा टेबल र २०४ वटा कुर्सी सार्वजनिक स्थान अवरुद्ध गरेको आरोपमा जफत गरेको छ। KPDN ले मूल्य ट्याग र तौल उपकरणसम्बन्धी उल्लङ्घनमा ५ वटा जरिवाना बापत (कुल आरएम ५,५०० ) तिराएको छ। यसैगरी, SSM ले व्यापार दर्ता र बोर्डसम्बन्धी मुद्दामा ७ वटा जरिवाना गरेको छ भने PDRM ले सुरक्षामा सहयोग पुर्याएको बताइएको छ।
– बर्नामा