पञ्जाव राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन।

नयाँदिल्ली:= भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाव राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।

भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ ।

ताजा घटना सोमबार राति अमृतसर जिल्लाको पाँचवटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहकाअनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनापछि प्रहरीले नौजनालाई पक्राउ गरेको छ ।

पञ्जाव प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानविन भइरहेको र दोषीहरूलाई कानुनी दायरामा ल्याइने जनाएको छ । पञ्जावका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिनुभयो । गत वर्षमात्रै पनि भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो । रासस÷एएफपी