एजेन्सी:= बोलोग्ना कोपा इटालियाको च्याम्पियन बनेको छ । एसी मिलानविरुद्ध १-० को जित निकाल्दै बोलोग्नाले ५१ वर्षपछि उपाधि उचालेको हो । टोलीले पछिल्लोपटक सन् १९७४ मा यो उपाधि जितेको थियो ।
यो अवधिमा बोलोग्नाले दोस्रो डिभिजनको दुई उपाधिबाहेक अन्य कुनै ठूलो सफलता हासिल गर्न सकेको थिएन । बुधबार राती रोमास्थित ओलम्पिको रंगशालामा ड्यान एनडोएले ५३औँ मिनेटमा गरेको एकमात्र गोल बोलोग्नालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
प्रशिक्षक भिन्चेन्जो इटालियानोका लागि पनि यो उपाधि विशेष रहृयो । उहाँले यसअघि फियोरेन्टिनाको प्रशिक्षण सम्हाल्दा लगातार दुई युरोपा कन्फ्रेन्स लिग र सन् २०२३ को इटालियन कप फाइनल गुमाउनुभएको थियो ।
‘ती तीनवटै हार पीडादायक थिए । मैले त्यसबाटमाथि उठ्दै यती चाँडै उपाधि जित्छु भनेर कल्पना पनि गरेको थिइनँ। तर, हामी सफल भयौं र म अत्यन्त खुसी छु,’ इटालियानोले खेलपछि भने भने,‘मैले आफ्नो करियरमा एक महत्त्वपूर्ण ट्रफी थपेको छु। यो जित असाधारण प्रदर्शन गरेका मेरा खेलाडीलाई समर्पण गर्छु।’
इटालियानो बोलोग्ना आएको पहिलो सिजनमै उपाधि जित्न सफल हुनुभएको हो । उहाँले थिएगो मोट्टाको स्थान लिनुभएको थियो ।




















