काठमाडौं:= ‘तपाईंहरूकै पार्टीले गृहमन्त्रालय सम्हालेको १० महिना बित्यो । जीबी राई कहिले पक्राउ पर्छन् र नेपाल ल्याइन्छ ?,’ सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रश्न गरे । सहकारी ठगी प्रकरणका मुख्य नाइके भनिएका गितेन्द्रबाबु (जीबी) राईबारे कुनै समय जोडतोडले संसद्मा कुरा उठाउने नेपाली कांग्रेस अहिले जीबीको विषयमा मौन छ ।
प्रमुख प्रतिपक्ष रहेका बेला सहकारी ठगी प्रकरणलाई नै मुद्दा बनाउँदै संसद्सम्म अवरोध गरेको पार्टीकै व्यक्ति अहिले गृहमन्त्रालय सम्हालिरहेका छन् । तर, आफैंले उठाएको मुद्दाका मुख्य नाइके भनिएका जीबीलाई गृहमन्त्री रमेश लेखकले कानुनी दायरामा ल्याउन सकेका छैनन् ।
लामो समयसम्म जीबी पक्राउ नपरेको कारणतर्फ इंगित गर्दै सांसद पराजुलीले थपे, ‘१६ अर्ब ५० करोडमध्ये ७ अर्ब मात्रै आफूले लिएकाले जीबी राईले तिर्छु भनेको सुनियो । बाँकी ९ अर्ब ५० करोडको भागेदार को-को हुन् ? यो तथ्यको अनुसन्धान हुँदा सबै उदाङ्गो हुने डरले गाँजेको कारणले जीबी राईलाई पक्राउ नगरिएको हो ?’

‘जनता हल्ला गर्दैछन् नि’ भन्दै उनले जीबी पक्राउ नपर्नुको आशंकासहित प्रश्न गरे । हुन पनि अघिल्लो सरकारको पालामा जीबी राईबारे जोडतोडले विषय उठाउँदै किन पक्राउ नगरेको भन्दै संसद्मा ‘हंगामा’ मच्चाएको पार्टीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको छ । जिम्मेवारी सम्हालेको वर्षगाँठ पुग्न लाग्दा जीबीको विषय भने ज्यूँका त्यूँ छ ।
नेपाली कांग्रेसको प्रमुख सचेतक रहुन्जेलसम्म रमेश लेखकले सहकारी ठगी प्रकरणविरुद्ध संसद्मा निरन्तर आवाज उठाए । अझ लेखककै अगुवाइमा रास्वपा सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन हुनुपर्ने भन्दै संसद् नै अवरुद्ध भयो ।
अन्ततः व्यक्ति किटान नगरी छानबिन गर्नेगरी सहमति भयो । नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिले ३१ भदौमा बुझाएको प्रतिवेदनमा गोर्खा मिडियामा आएको रकम अपचलनमा ४ जनालाई दोषी भन्दै कारबाहीको सिफारिस गर्यो ।

जसमा लामिछानेसहित गोर्खा मिडिया सञ्चालक जीबी राई, छविलाल जोशी र कुमार रम्तेल थिए । जसमध्ये २ जना (लामिछाने र जोशी) पक्राउ परे र अहिले पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।
पोखराको सूर्यदर्शन सहकारीसहित कालीमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणका मुख्य योजनाकार भनिएका जीबी भने अहिलेसम्म फरार नै छन् ।
लामो समयदेखि फरार रहेका उनी अहिले पनि मेलेसियामै रहेको प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौंबाट भागेर मलेसिया पुगेका उनी अहिले पनि मलेसियामै सुरक्षित रूपले बसेका छन् । उच्च प्रहरी स्रोतका अनुसार उनी अहिले मलेसियामै घरजम गरेर बसेका छन् ।
एक अनुसन्धान अधिकृतका अनुसार उनी पछिल्लो समय मलेसियन युवतीसँग लिभिङ टुगेदरमा बसेका छन् । ‘जीबी मलेसियन युवतीसँग लिभिङ टुगेदरमा रहेको भन्नेसम्म विषय पुष्टि भएको छ । कानुनी रूपमा उनले विवाह पनि गरेको हुनसक्छ । जुनसुकै बेला पक्राउ परेर नेपाल फिर्ता हुनसक्ने सम्भावना भएपछि त्यसबाट बच्न उनले मलेसियन युवतीसँग विवाह गरेको हुनसक्छ,’ जीबीबारे अनुसन्धान गरेका एक अनुसन्धान अधिकृत भन्छन् ।
प्रहरीका अनुसार सुरुमा जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका थिए । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरीको छ ।
१ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ । मलेसिया सरकारको ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणाअनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरीको भनाइ छ । अहिले भने मलेसियन युवतीसँग लिभिङ टुगेदरमा रहेकाले उनी झनै सुरक्षित रहेको प्रहरीको दाबी छ ।
मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन नचाहेका कारण उनी सुरक्षितको प्रहरीको बुझाइ छ । जीबी राईकी पत्नी भगवती बम्जन (निशा) पनि अहिलेसम्म फरार छिन् । उनी भने मलेसियामा नरहेको प्रहरीको दाबी छ ।
जीबीलाई ल्याउनेबारे निरन्तर पहल भइरहेको प्रहरी महानिरीक्षकको सचिवालयको भनाइ छ । ‘प्रहरीको तर्फबाट हुनुपर्ने काम भइरहेकै छ । कूटनीतिक पहल पनि भइरहेको जानकारी हामीले पाएका छौं । जतिसक्दो चाँडो ल्याउने हाम्रो प्रयास जारी छ,’ आईजीपीको सचिवालयका एसएसपी रमेश थापाले भने ।
‘कूटनीतिक पहलबाहेक ल्याउन असम्भव’
मलेसियामा सुरक्षित रहेको बताइएका जीबीलाई प्रहरीको पहलबाट मात्रै नेपाल ल्याउन असम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम यसअघि नै गरिसेकेको र प्रहरीकै अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएको अवस्थामा समेत राईलाई नेपाल ल्याउन सकिएको छैन ।
इन्टरपोलमार्फत रेड नोटिस जारी भए पनि पक्राउ परेर स्वदेश फिर्ता गराउन बाध्यकारी नभएकाले मलेसियन सरकारले राईलाई फिर्ता नपठाएको प्रहरीको बुझाइ छ । यसका साथै प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने पहल गरेको र मलेसिया नै प्रहरी गएर समेत पहल गर्दा जीबी ल्याउन असम्भव भएको बताइएको छ ।
जसका कारण प्रहरीको आफ्नै पहलबाट जीबी राईलाई स्वदेश ल्याउने प्रक्रिया लगभग असम्भव रहेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘प्रहरीको तर्फबाट गर्ने सबै काम यसअघि नै भइसकेका छन् । इन्टरपोलको नोटिस समेत बाध्यकारी हुँदैन । जसका कारण हाम्रो पलहबाट मात्र उनलाई ल्याउन सम्भव छैन,’ राईबारे अनुसन्धान गरिरहेका एक अधिकारीले भने ।
यसका लागि सरकार टु सरकार अर्थात् कूटनीतिक पहल हुन आवश्यक छ । कूटनीतिक पहलबिना जीबीलाई ल्याउन नसकिने भन्दै प्रहरी हेडक्वार्टरले यसबारेमा गृह मन्त्रालयलाई समेत ब्रिफिङ गरिसकेको एक अधिकारी बताउँछन् ।
प्रहरीको उक्त ब्रिफिङपछि गृहले पनि केही कूटनीतिक पहल गरेको दाबी गरे पनि यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । जसका कारण राई लामो समयदेखि मलेसियामा सुरक्षित रहेको बताइन्छ ।

गृहमन्त्री लेखकको सचिवालयका अनुसारका उनी गृहमन्त्री भएपछि पटक-पटक मलेसियन सरकारसँग समन्वय गरेर जीबी फिर्ताको विषयमा कुरा भइरहेको छ । परराष्ट्रमार्फत कूटनीतिक नोट समेत पठाइएको थियो । तर मलेसियन सरकार भने जीबीलाई पठाउन इच्छुक देखिएको छैन ।