एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटनले मुम्बई इन्डियनलाई तीन विकेटले हराएको छ। मंगलबार वर्षाले प्रभावित भएर बारम्बार रोकिएको खेलमा १९ ओभरमा घटाएर पाएको १४७ रनको लक्ष्य गुजरातले ७ विकेट गुमाउँदै अन्तिम बलमा पुरा गरेको हो।
मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको गुजरातले १४ ओभर सकिँदा दुई विकेटको क्षतिमा १०७ रन जाडेको थियो। वर्षाले खेल रोकिएको सो समयमा डर्कवर्थ लुइसको आधारमा गुजरात ८ रनले अघि थियो।
पानी रोकिएपछि खेल सुचारु हुँदा मुम्बई नाटकीय रूपमा खेलमा फर्किएको थियो। १५ औँ ओभरमा जसप्रित बुमराहले गुजरातका कप्तान शुभमन गिललाई ४३ रनमा आउट गर्नुभयो । ४६ बलको सामना गरेका उहाँले ४३ रन प्रहार गर्नुभएको थियो ।
गुजरातका लागि कप्तान गिल र रुदरफोर्डको अलावा जोस बटलरले २७ बलमा ३० रन बनाउनुभयो । कोयट्जेले ६ बलमा १२ रन प्रहार गर्नुभयो । मुम्बईका लागि बुमराहका अलावा अश्विनी कुमारले चार ओभरमा २८ रन खर्चेर दुई तथा ट्रेन्ट बोल्टले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिनुभयो ।
यस अघि घरेलु बंखाडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले आठ विकेटको क्षतिमा १५५ रन जोडेको थियो। मुम्बईका विल ज्याक्सले ३५ बलमा ६३ तथा सूर्यकुमार यादवले २४ बलमा २७ रन बनाउनुभयो । करबिन बोस्कले २२ बलमा २७ रन जोड्नुभयो । गुजरातका साई किशोरले दुई विकेट लिनुभयो ।
जितपछि गुजरात ११ खेलमा १६ अंकसहित शीर्ष उक्लेको छ। मुम्बई भने १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ। सुरुका पाँच खेलमा दुई अङ्क मात्र जोडेको मुम्बईले त्यसपछि लगातार ६ खेलमा सफलता पाएको थियो।