विवादमा नुवाकोटको विदुरस्थित शेरा दरबार जग्गा, माओवादीको नाम जोडेको प्रति प्रचण्डको आपत्ति।

नुवाकोट := नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी हडप्न खोजेको भेटिएपछि यसप्रति सर्वत्र चासो बढेको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ (साविक भैरवी गाविस ७) मा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा बनेको हो । यहाँ दरबार र जग्गा गरी कुल १८४ रोपनी चार आना क्षेत्रफलको जग्गा छ ।

दरबारको जग्गा कुनै एक कम्पनीका नाममा नियन्त्रणमा रहेको विषय बाहिर आएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नुवाकोटको विदुर नगरपालिका-२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष गत शुक्रबार सिफारिश गरेको थियो ।

पृथ्वीनारायण शाहको शीतकालीन दरबारका रूपमा रहेको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरी सरकारका नाममा ल्याउन सिआइबीले अनुसन्धान प्रतिवेदनसहित भूमि व्यवस्था मन्त्रालयलाई सिफारिश गरेको हो ।

सिआइबीले माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको उक्त जग्गा सरकारका नाममा ल्याउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । सिआइबीले थप अनुसन्धान गर्न र सरकारी जग्गा हिनामिनामा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरेको छ ।

शेरा दरबारले चर्चेको हदबन्दी लागेको जग्गा नेपाल सरकारका नाममा आउनुपर्नेमा २०३५ सालदेखि कृषि फार्मिङका नाममा दर्ता गरेर त्यसलाई निजीकरणमा लगेको पाइएपछि सिआइबीले अनुसन्धान गरेको हो । द्वन्द्वकालमा माओवादीले र पार्टी विभाजनपछि २०६९ मा वैद्य तथा त्यसपछि चन्द समूहले यो दरबारमा झण्डा गाडेर कब्जा गरेको दाबी गर्दै आएका थिए ।

२०७२ पछि उक्त जग्गा माओवादी नेता श्रेष्ठको स्वामित्वमा सारिएको हो । तत्कालीन अधिराजकुमार वसुन्धराकी श्रीमती हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको शेरा दरबार र त्यसले चर्चेको जग्गा २०२१ मा हदबन्दी कानुन लागू भएपछि सरकारका नाममा सर्नुपर्ने थियो ।

तर, उक्त जग्गा व्यक्तिकै नाममा जोगाउन २०२७ मा गौरीशंकर फार्मिङ स्थापना गरी कम्पनीका नाममा राखिएको थियो । गौरीशंकर फार्मिङका सञ्चालक र सेयरधनी हेलेन र विजयालक्ष्मी शाह दुवै थिए । गौरीशंकर फार्मिङको नाम २०३६ मा अन्नपूर्ण फार्मिङमा परिवर्तन गरिएको थियो ।

फार्मिङको सेयर र जग्गा विभिन्न समयमा फरक–फरक व्यक्ति हुँदै २०७२ मा विकेश श्रेष्ठका नाममा आएको प्रहरी अनुसन्धानमा भेटिएको छ । २०७२ मा कम्पनीमा सेयरधनीका रूपमा प्रवेश गरेका विकेश श्रेष्ठले अहिले सम्पूर्ण कम्पनी नै आफू र छोराका नाममा बनाउनुभएको छ ।

हदबन्दीभन्दा बढीको जग्गा जुन प्रयोजनका लागि लिइएको हो, त्यसैमा उपयोग नभएको पाइए सरकारले आफूमातहत ल्याउने कानुनी प्रावधान रहेको छ । यस विषयमा गत कात्तिक २६ मा सिआइबीले भूमिमन्त्री बलराम अधिकारीसँग छलफल गरेको थियो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा भएको छलफलबाट ‘गौरीशंकर कृषि फार्मिङको स्वामित्वमा रहेको जमिन अन्नपूर्णमा ल्याउँदा आवश्यक कागजातको प्रकृति बुझ्ने, संयुक्त टोली बनाई स्थलगत भ्रमणमा गई उक्त जमिनमा उद्देश्यअनुरूप कृषि फर्म सञ्चालन भए÷नभएको अनुगमन गर्ने’ निर्णय भएको थियो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-३ का विकेश श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नातेदार रहेको भन्ने स्थानीयको दाबीलाई सिआइबीले प्रतिवेदनमा लेखेको छ । ‘गौरीशंकर फार्मिङका नाममा कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७, ९८ समेत गरी १३ कित्ताको १६४ रोपनी १३ आना दुई पैसा एक दाम जग्गा एकमुष्ट रहेको’ सिआइबीले जनाएको छ ।

विकेश श्रेष्ठले आफू माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पूर्वस्वकीय सचिव भएका कारण जग्गा विवाद निकालिएको प्रतिक्रिया दिनुभएको छ । अन्नपूर्ण फार्मिङ कम्पनी आफूसहितको समूहले कानुनबमोजिम नै किनेको उहाँको दाबी छ । २०६८ सम्म केन्द्रीय सदस्य रहेका श्रेष्ठ अहिले पार्टीमा सक्रिय नरहेको माओवादीले जनाएको छ ।

आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रमुख आइजिपी वसन्तबहादुर कुँवरसँग यसबारे कुराकानी पनि गर्नुभएको थियो । गृहमन्त्री लेखकले आइजिपी कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग यसबारे ब्रिफिङ लिनुभएको हो । ब्रिफिङसँगै मन्त्रीले शेरा दरबारबारे छिटो अनुसन्धान गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

‘यस विषयमा सिआइबीले छानविन गरिरहेकै छ । त्यसमा तदारूकताका साथ अनुसन्धान गर्न, राम्ररी छानविन गरी दोषीलाई कारबाही गर्न भनेर गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ सचिवालय स्रोतले भन्यो ।

नाम जोडेको प्रति प्रचण्डको आपत्ति

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नोे पार्टीलाई अनावश्यक जोडेर झुटो प्रचार गरेको दाबी गर्नुभएको छ । प्रचण्डले सोमबार झापामा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्ने क्रममा त्यसबारे टिप्पणी गर्नुभएको हो ।

‘अनौठो खालको प्रचार हिजो-अस्तिबाट तपाईंले सुन्नुभएको पनि होला,’ उहाँले भन्नुभयोे, ‘हाम्रो पार्टीबाट झण्डै १२, १५ वर्ष अगाडि पार्टी छोडिसकेको मान्छेको जग्गाको विषयलाई लिएर माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर शेरा दरबारको कुरा ल्याइएको छ ।’

प्रचण्डले सरकारको जग्गा भए त्यसलाई तुरुन्त सरकारका नाममा ल्याउन आग्रह गर्दै अन्यथा झुटो प्रचार नगर्नसमेत चेतावनी दिनुभयो । ‘म चुनौतीका साथ भन्न चाहन्छु ओली सरकारलाई- शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारका नाममा ल्याऊ’,

उहाँले भन्नुभयो, ‘मेरो पूरै साथ हुनेछ तिमीहरूलाई । तर, झुटो प्रचार गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहन्छु ।’ प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारमा नाम जोडिएका आफ्नै पार्टीका नेताहरूविरुद्ध समेत अनुसन्धान गराएको दाबी गर्नुभयो ।