काठमाडौं := नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले नयाँ पार्टी बनाउने हुनु भएको छ । एमालेबाट निष्कासित भएपछि उहाँले राजनीतिक भेटवार्तालाई तीब्रता दिनुभएको छ। यसैबीच नेता रावल नयाँ पार्टी निर्माणको छलफलमा जुट्नु भएको छ ।
सोमबार बिहान नेता रावले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग छलफल गर्नुभएको छ। दुई नेताले रावल निवास टोखामै पुगेर छलफल गर्नुभएको हो ।
उहाँले नयाँ पार्टी घोषणा गर्नका लागि आगामी बुधबार पत्रकार सम्मेलनसमेत बोलाउनु भएको । कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ । रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्न अहिले आन्तरिक गृहकार्य भइरहेको छ ।
गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रावल नयाँ पार्टी गठनको तयारीमा हुनुहुन्छ । रावलको नयाँ पार्टीमा सुदूरपश्चिमका नेकपा एमाले र काङ्ग्रेसमा असन्तुष्ट रहेका केही नेता सहभागी हुने सम्भावना देखिन्छ ।
०७८ सालको मंसिरमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा उठेका रावल केपी शर्मा ओलीसँग भारी मतले पराजित भएका थिए। सर्वसम्मत रुपमा उपाध्यक्ष बन्न गरिएको प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दिएका रावल त्यसयता एमाले नेतृत्वको किनारामा पर्दै आएका थिए।





















