मिसेस हेरिटेज इन्टरनेशलको उपाधि विजेता विभा बस्नेत एमालेमा प्रवेश।

काठमाडौं := मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जित्न सफल हुनुभएकी विभा बस्नेत राजनीतिमा होमिनुभएको छ । गत महिनामात्र सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जित्नुभएकी उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्नुभएको हो ।

उहाँलाई आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममार्फत नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । विभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एमालेमा स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश गर्दै उहाँले आफू अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बिग फ्यान’ भएकाले राजनीतिमार्फत सामाजिक काम गर्न एमाले प्रवेश गरेको जिकिर गर्नुभयो ।

थाइल्याण्डमा सम्पन्न मिसेस हेरिटेज इन्टरनेशनलको प्रतियोगितामा नेपालको तर्फबाट भाग लिनुभएकी बस्नेत संसारभरका प्रतिस्पर्धीलाई उछिनेर उपाधि जित्न सफल हुनुभएको थियो । यो उपाधि जित्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

प्रतिस्पर्धामा विभाले ४७ देशका प्रतियोगीलाई उछिन्दै उपाधि चुम्नुभएको थियो । सातौं संस्करणको प्रतियोगितामा भारत, थाइल्याण्ड, बेलायत, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, न्युजिल्याण्ड, मेक्सिको, लाट्भिया, मलेसिया, सर्बियालगायत देशका सहभागी थिए ।

सौन्दर्य प्रतियोगिताका विजेताले राजनीतिमार्फत समाजसेवा रोज्ने गरेको पाइएको छ । यसअघि मिस नेपाल वल्र्ड २०२४ आश्माकुमारी केसीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले १ असोजमा केन्द्रीय सदस्यमा छनोट गरेको थियो ।

एमालेले यसअघि पनि गायिकादेखि सुन्दरीसम्मलाई पार्टीमा प्रवेश गराएको थियो । कोमल वली र करिश्मा मानन्धरसहितका कलाकार त्यसका उदाहरण हुन् । दाङकी कोमलले त संघीय संसद्‍मा पुगेर राजनीतिक लाभ लिएकी छन् ।

करिश्माले भने नाम सूर्यकुमारी राखेर पनि एमालेबाट फाइदा लिन सकेकी छैनन् । अब उनीहरूसँगै एमालेमा प्रवेश गर्ने सुन्दरीमा बिभा पनि परेकी छन् ।