शेख हसिनाले आफ्नो १५ बर्षे कार्यकालमा देशको शासन प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पारेको छ्: मोहम्मद युनुस।

एजेन्सी := बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री शेख हसिनाले देशको सबै कुरा बर्बाद गरेको आरोप लगाएका छन् ।

युनुसले हसिनाले आफ्नो १५ वर्षको कार्यकालमा देशको शासन प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पारेको बताए । उनले भने ‘लोकतन्त्र, आर्थिक स्थायित्व र जनविश्वासको पुनर्स्थापना गरी यसलाई पुनर्निर्माण गर्ने ठूलो जिम्मेवारी हामीसँग छ ।’ जापानी पत्रिका निक्की एशियालाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

युनुसले हाल बंगलादेशमा चुनाव हुने सम्भावनालाई अस्वीकार गरेका छन् । हसिनाको सुनुवाइ सकिएपछि भारतसँग उनको सुपुर्दगीको औपचारिक माग गर्ने उनले बताए । पूर्वप्रधानमन्त्री हसिना बंगलादेशमा कु’ भएपछि निर्वासित जीवन बिताइरहेकी छिन् ।

हसिनाको शासनकालमा लोकतान्त्रिक सिद्धान्तलाई पूर्ण रूपमा बेवास्ता गरिएको युनुसले आरोप लगाए । उनले भने ‘हसिनाले लगातार तीन कार्यकाल मतदाताको सहभागिताविना नक्कली निर्वाचन गराएकी थिइन् । उनले बिना कुनै प्रतिस्पर्धा आफू र आफ्नो पार्टीलाई विजयी घोषणा गरिन् ।’

उनले भने ‘अन्तरिम सरकारले देशको संविधान, न्यायपालिका र निर्वाचन प्रक्रियामा परिवर्तन गर्न विभिन्न आयोग गठन गरेको छ । यी आयोगहरूबाट प्राप्त सिफारिसहरू जनवरीदेखि पूर्ण रूपमा लागू हुनेछन्। यी सिफारिसहरू कार्यान्वयन गर्न समय लाग्न सक्छ। हामी पूर्णतया नयाँ बंगलादेश बनाइरहेका छौं।’

युनुसले अगाडि भने ‘हामी आधिकारिक रूपमा हसिनाको सुनुवाइ पूरा भएपछि भारतसँग सुपुर्दगीको माग गर्नेछौं। भारत र बंगलादेशले अन्तर्राष्ट्रिय कानूनमा हस्ताक्षर गरेका छन् जसअनुसार भारतले बंगलादेशको मागलाई स्वीकार गर्नुपर्नेछ।

यसबाहेक युनुसले बंगलादेशमा हिन्दूमाथि भएको हमलाबारे भारत सरकारको चासोलाई निराधार र कुप्रचारको संज्ञा दिएका छन् । त्रिपुरामा बंगलादेशी मिसनमा भएको आक्रमणपछि बंगलादेशले मंगलबार नै भारतीय उच्चायोगलाई बोलाएको थियो ।

अर्कोतर्फ पूर्वप्रधानमन्त्री शेख हसिनाले हिन्दूविरुद्धको हिंसालाई लिएर मुख्य सल्लाहकार युनुसमाथि हमला गरेकी छन् । न्यूयोर्कमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हसिनाले युनुसले देशमा नरसंहार गरेको बताइन् ।