इपोस्थित पेराक केभ टेम्पलमा २६ वर्षीय नेपाली मृत अवस्थामा फेला।

इपो (मलेसिया):= मलेसियाको पेराक राज्यस्थित प्रसिद्ध पेराक केभ टेम्पल (Perak Cave Temple), इपोमा शनिबार दिउँसो एक नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन्।

स्थानीय स्रोतका अनुसार करिब २६ वर्षीय नेपाली पुरुष मन्दिर परिसरको भिरालो क्षेत्रमा लडिरहेको अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी पाएपछि उद्धार टोलीसहित अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए।

भिरालो तथा जोखिमपूर्ण स्थानमा मृत अवस्थामा रहेका उनलाई सुरक्षित रूपमा बाहिर निकाल्न अग्निनियन्त्रकहरूले क्रेनको प्रयोग गरेका थिए। उद्धारपछि उनको मृत्यु भइसकेको पुष्टि गरिएको बताइएको छ।

घटनाको विस्तृत कारण तथा मृतकको पहिचानबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ। मृत्युको कारण तत्काल स्पष्ट भइसकेको छैन। घटनास्थलबाट उद्धार कार्यका तस्बिरहरू इपो फायर एन्ड रेस्क्यु स्टेसन (Balai Bomba Ipoh) ले सार्वजनिक गरेको छ।