क्वालालम्पुरको लेबुह पुडु कोतारायामा इमिग्रेशनको छापा, नेपालीसहित ४७२ विदेशी पक्राउ।

क्वालालम्पुर(मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरस्थित लेबुह पुडु क्षेत्रमा आइतबार सञ्चालन गरिएको एकीकृत बृहत् प्रवर्तन अभियान ‘अपरेसन मेगा’ (Op Bersepadu Mega) का क्रममा अध्यागमनसम्बन्धी विभिन्न कसुरमा ४७२ जना विदेशी नागरिक पक्राउ परेका छन्।

मलेसियाली अध्यागमन विभागको नेतृत्वमा विभिन्न सरकारी निकायको संयुक्त सहभागितामा बिहान ११ बजेदेखि सुरु भएको उक्त कारबाहीका क्रममा करिब २ हजार ५ सय विदेशी नागरिकको कागजात जाँच गरिएको थियो।

विदाको दिन लेबुह पुदु क्षेत्रमा ठूलो संख्यामा विदेशी नागरिकको आवतजावत हुने तथा अवैध गतिविधि र व्यवसाय सञ्चालन भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि सम्बन्धित निकायले क्षेत्रलाई घेरा हालेर आकस्मिक जाँच तथा धरपकड अभियान सञ्चालन गरेको जनाएको छ।

फोटो स्रोत : जाबातान इमिग्रेशन मलेसिया ।

कारबाहीका क्रममा केही विदेशी नागरिकले भाग्ने प्रयास गर्नुका साथै केहीले आफू बसेका स्थानका ढोका बन्द गरेर अधिकारीलाई प्रवेशमा अवरोध गर्न खोजेपछि केही समय अवस्था तनावपूर्ण बनेको बताइएको छ।

पक्राउ पर्नेमा ४३९ पुरुष र ३३ महिला रहेका छन्। मलेसियाली अध्यागमन विभागका अनुसार पक्राउ परेकाहरूमा नेपाली नागरिकसमेत रहेका छन्। नेपालसहित सबै भन्दा बढी बंगलादेश, म्यानमार, इन्डोनेसिया, भारत, चीन, पाकिस्तान र फिलिपिन्सलगायत विभिन्न देशका नागरिक पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये सबैभन्दा धेरै ३६४ जना बंगलादेशी र ५७ जना म्यानमारका नागरिक रहेको जनाइएको छ। उनीहरूमध्ये वैध परिचयपत्र वा राहदानी साथमा नराखेका, भिसाको अवधि समाप्त भइसकेपछि पनि मलेसियामा बसिरहेका तथा अध्यागमनसम्बन्धी नियम उल्लंघन गरेका विदेशी नागरिक रहेको अधिकारीहरूले बताएका छन्।

अभियानका क्रममा पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि बुकित जलिल अध्यागमन डिपो (Bukit Jalil Immigration Depot) मा पठाइएको छ।

मलेसियाली अध्यागमन विभागले विदेशी नागरिकले देशमा रहँदा आफ्नो राहदानी तथा वैध अध्यागमन कागजात साथमा राख्नुपर्ने र तोकिएको बसाइ अवधि तथा अध्यागमनसम्बन्धी नियम अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिएको छ।

स्रोत : स्थानीय मलेसियाली सञ्चारमाध्यम