आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित विवाह पञ्चमी पर्व मनाइँदै।

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा राम लक्ष्मणको भेषमा सजिएका कलाकार । तस्बिरः चन्दन ठाकुर÷रासस

जनकपुर:= प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज शुक्रवार देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई महोत्सवकै रूपमा मनाउने गरेका छन्।​

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए। शिवधनुष भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

सीतालाई छोरी–बहिनी मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विवाह समारोहसम्ममा सहभागी हुन्छन्।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार हुन्छ। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ।​

रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुन्छन्।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ। उक्त महोत्सवपहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल चार दिन मात्र मनाइन्छ।