दक्षिण कोरियामा सैन्य शासन लागू गर्न खोज्ने राष्ट्रपति युन सुक योलविरुद्ध सांसदहरूद्वारा महाभियोगको प्रस्ताव पेश।

एजेन्सी:= दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसदहरूले महाभियोगको प्रस्ताव पेश गरेका छन् । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके)सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ ।

मंगलबार स्थानीय समयानुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताउनुभएको थियो । उहाँले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गर्नुभएको थियो ।

राष्ट्रपतिले गरेको सम्बोधनलगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो । यद्यपि, राष्ट्रपतिकै पार्टीका नेताहरूले पनि यो कदमको विरोध गरेका थिए भने विपक्षी दलका सांसद्हरूले संसद् भवनमा बाहिर उपस्थित भएर प्रदर्शन गरेका थिए ।

लगत्तै देशभर राष्ट्रपतिको विरोधमा प्रदर्शन भएको थियो। व्यापक दबाबबीच बुधबार बिहान उहाँले सैन्य शासन लागू गर्ने प्रस्ताव फिर्ता लिनुपरेको थियो । यद्यपि, असंवैधानिक कदम चाल्ने राष्ट्रपतिविरुद्ध कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन जारी छ ।