काठमाडौं:= नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) मलेसियाले चीन तिब्बत – रसुवा नाकाहुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका पीडित परिवारका लागि रु. १ लाख १ हजार १५ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण तीन जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाइएको हो।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय परिषद्ले बाढीपहिरो प्रभावित क्षेत्रमा औपचारिक रूपमा राहत वितरण गर्ने उद्देश्यले प्रवासमा रहेका विभिन्न संघ–संस्थालाई आर्थिक सहयोगका लागि आह्वान गरेको थियो। सोही आह्वानअनुसार नेफिन मलेसियाको पहलमा संकलित रु. १ लाख १ हजार १५ संघीय परिषद्को कार्यालयमा उपस्थित भई हस्तान्तरण गरिएको हो।

सहयोग रकम नेफिन मलेसियाकी महिला उपाध्यक्ष देविका राई ‘बिनु’को उपस्थितिमा नेफिन संघीय महासचिव बिमल सारु मगरलगायत संघीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा मलेसियामा रहेका नेपाली आदिवासी जनजाति समुदाय तथा संघ–संस्थाले विपद्का बेला नेपालका प्रभावित नागरिकप्रति देखाएको ऐक्यबद्धता र मानवीय सहयोगको महत्वबारे समेत चर्चा गरिएको थियो।
नेफिन मलेसियाले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापनामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्मा सहयोग पुर्याउँदै आएको नेपाली समुदायको मानवीय अभियानअन्तर्गत महासंघले मलेसियाबाट उक्त सहयोग गरिएको हो।




















