काठमाडौं := दशैकै अवसर पारेर रिलिज भएको नेपाली चलचित्र जगतका जल्दाबल्दा नायक विराज भट्टको चलचित्र ‘१२ गाउँ’ले सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार गरेको गोविन्द शाहीको दाबी छ । सिनेमा घरहरूमा पछिल्ला दिनमा यो चलचित्रको अकुपेन्सी पनि बढेको थियो । ‘१२ गाउँ’बाट समीर भट्टले ठूलो पर्दामा डेब्यु गर्नुभएको छ ।
भारतमा बसेर मार्सल आर्ट र अभिनय सिक्नुभएका समीरले पहिलो चलचित्रबाट आफूलाई एक्सन हिरोको रूपमा चिनाउनुभएको छ । यो चलचित्रबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्नुभएको छ ।
चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।
एक्सन-थ्रिलर कथामा यो चलचित्रमा तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गर्नुभएका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाउनुभएको छ । महेश पौडेलको छायांकन रहेको चलचित्र काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । चलचित्रको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।



















