काठमाडौं := बक्सअफिसमा चलचित्र ‘छक्का पञ्जा ५’ले आक्रामक व्यापर गरिरहेको छ । दीपाश्री निरौला निर्देशित यो चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको हो । नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा असोज २४ गतेदेखि सिनेमाघरमा आएको यो चलचित्रले १० दिनमा देशभर १५ करोड ४० लाख ग्रस कलेक्सन गरेको छ ।
यो मितिमा चलचित्र ‘छक्का पञ्जा ५’सँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका थिए । ‘१२ गाउँ’ले सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार गरेको छ भने ‘ज्वाइँ साब’ले दश दिनमा तीन करोड २५ लाख कमाएको जनाइएको छ ।
‘छक्का पञ्जा ५’ ले शनिबारसम्म १५ करोड ४० लाख ग्रस कलेक्सन गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । पहिलो साता भने चलचित्रले साढे ११ करोड कमाइ गरेको थियो । दोस्रो बिहीबार एक करोड २० लाख, दोस्रो शुक्रबार पनि एक करोड २० लाख र दोस्रो शनिबार एक करोड ५० लाख ग्रस कमाइ गरेको ब्यांकटेसले उल्लेख गरेको छ ।
‘छक्कापञ्जा ४’ ले दोस्रो सप्ताहन्तसम्म साढे १० करोड ग्रस कमाई गरेको थियो । अघिल्लो शृंखलाभन्दा ‘छक्का पञ्जा ५’ ले तीव्र गतिमा व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ । यस चलचित्रमा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा, पटकथा र संवाद रहेको चलचित्रको कथा कर्मचारीतन्त्र, राजनीतिमा केन्द्रित छ ।