काठमाडौं := दशैँको फूलपातीबाट प्रदर्शनमा आएको चलचित्र ‘ज्वाइँ साब’ले सुरुवातदेखि नै ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगको भिडन्तका कारण अपेक्षित शो पाउन सकेन । ‘ओपनिङ’ पनि सन्तोषजनक नहुँदा शो झनै खुम्चियो ।
तर, ‘वर्ड अफ माउथ’ राम्रो मिल्न थालेपछि चलचित्रले गति समात्यो । दशैँको टीकापछि अकुपेन्सीमा वृद्धि गरेको चलचित्रले दोस्रो हप्तामा पनि राम्रो दर्शक पाइरहेको छ । यसैबीच, निर्माण कम्पनी रेड आई फिल्मस्ले चलचित्रको १० दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।
आइतबार एक पोष्टमार्फत् चलचित्रले तीन करोड २५ लाख कमाएको जनाइएको छ । यो ग्रस व्यापार हो । अर्थात् यसमा हलको सेयर र वितरकको कमिसन काटिएको छैन । निर्माताले सार्वजनिक गरेको व्यापारिक आँकडा हेर्दा चलचित्रको लगानी सुरक्षित भएको देखिन्छ ।
किनकि, यो चलचित्र बढीमा डेढ करोडमा बनेको हो । चलचित्रले एक करोड कमाउँदा निर्मातालाई ४५ लाखसम्म सेयर आउँछ । दशैँ अवधिभर न्यून शो पाएको ‘ज्वाइँ साब’ले विस्तारै शो थप्न थालेको छ । निर्देशक वसन्त निरौलाका अनुसार सुरुमा नलगाएका हलले पनि चलचित्र चलाउन थालेका छन् । शो र दर्शक दुवै बढ्न थालेकाले चलचित्र तिहारसम्म जाने उहाँको विश्वास छ ।
चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतको अभिनय छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने रोचक विषयवस्तु उठाएको चलचित्रले पारिवारिक दर्शकलाई आकर्षिक गरेको देखिन्छ ।




















