बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर लामिछानेको निलम्बन क्यानले गर्यो फुकुवा।

काठमाडौँ:= बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ । उच्च अदालतबाट सफाइ पाएसँगै क्यानले उनलाई आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने तयारी समेत थालेको छ ।

बुधबार साँझ नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रेस रिलिज जारी गर्दै भन्नुभएको छ- ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ ।’

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो ।

 


क्यानका एक उच्च पदाधिकारीका अनुसार आज बिहिवारसम्ममा क्यानले निर्णय गरेर उनलाई पठाइने छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ गतेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यास खेलमा छ। आईसीसीको नियम अनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइने छ । अब एक खेलाडी विश्वकपबाट बाहिरिने छन् भने सन्दीप खेल्ने छन्।