उच्च अदालत पाटनद्वारा क्रिकेटर सन्दिप लामिछाने निर्दोष रहेको ठहर, फैसलापछि के भने लामिछानेले ?

काठमाडौं := उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर गरेको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई उच्च अदालतले सफाई दिएको हो। बुधबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेको हो।

मंगलबार न्यायाधीशद्धय भट्ट र उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो। दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो।

बलात्कार मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए।उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले सन्दीपले सफाइ पाएको र जिल्ला अदालतको आदेश पूर्ण रुपमा उल्टिएको जानकारी दिए।

यसैबीच सन्दीपले सफाइ पाएसँगै उनका समर्थनहरुले खुसीयाली मनाएका छन्। अदालत बाहिर पञ्चेबाजासहित उनका समर्थकहरुले खुसीयाली मनाएका हुन्। बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर लामिछानेले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका हुन् ।

सफाइ पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले यस्तो बताए । छोटो प्रतिक्रिया दिएका उनले आफूलाई फसाइएको बताउँदै भने, ‘मैले पहिले पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेकै हो, अहिले उच्च अदालतको फैसलाको पनि सम्मान गर्छु ।’ उनले थपे ‘नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउनेछु ।’