कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला विजयी, पाए प्रमाणपत्र।

मोरङ:- कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुकमणी कोइराला विजयी हुनुभएको छ ।

अन्य समूहबाट कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा सोही समूहमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गर्नु भएको आज साँझ निर्वाचन परिणाम घोषणामा निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसैगरी महिला समूहतर्फ नेकपा (एमाले)की रुकमणी कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गरी विजयी हुनुभयो भने नेकपा (माओवादीकेन्द्र)की चम्पादेवी कार्कीले चार हजार नौसय ९२ मतभार प्राप्त गर्नुभयो

निर्वाचन अधिकृत गौतमले विजयी उम्मेदवारद्वय सिटौला र कोइरालाले विजयी प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।प्रदेश निर्वाचन कार्यालय विराटनगर(१० मा रहेको मतदान केन्द्र विहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेशसभाका ९३ सदस्य र एक सय ३७ पालिकाका दुई सय ७४ मतदातामध्ये दुई सय ७१ ले मतदान गर्नुभयो ।

मतदानमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले मतदान गर्नुभएन । साथै मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदार विरामी तथा झापाका झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा रहेकाले मतदान गर्नुभएन ।