सर्लाही:= सर्लाहीसहित तराईमधेसका महिला यस समयमा आफ्नो छाक टार्नका लागि माछा र घोङी संकलन गरेको देख्न पाइन्छ । धान खेत तथा कुलो र नहरमा जम्मा भएको पानीमा सामुहिक रुपमा गएर माछा मार्ने गरेको देखिन्छ ।
यसरी संकलन गरिएको माछा र घोङीले छाक मात्रै टार्न सकिने भएपनि प्रत्येक गाँउ गाँउबाट समुह नै बनाएर दैनीक जस्तो घोङी, माछा र गँगटो संकलन गरेको देखिन्छ । संकलीत घोङी घरमा ल्याई त्यसको चुच्चो भाग काटेर केहीबेर पानीमा डुवाएर सफा गरि त्यसलाई पकाएर खाने गरिन्छ ।
घोङी खाँदा स्वास्थ्यमा समेत फाईदा पुग्ने चिकित्सकको भनाई छ । सुपको रुपमा तयार गरि खाँदा यसले शरीरमा आवश्यक पर्ने मिनरल, क्यालसिएम जस्ता पौष्टिक तत्व पाइने स्वास्थ्यकर्मी सूर्यनारायण चौधरीले जानकारी दिनुभयो । जसले गर्दा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुने उँहाको भनाई छ ।
स्वास्थ्यको दृष्टिले समेत अति उपयोगी भएकाले समेत यसको संकलनमा दैनिक जस्तो समय खर्चेर संकलनको लागि जाने महिलाहरुको भिड नै देखिन्छ । पानी जम्ने ठाँउमा बाह्र महिनै पाईने भएपनी धेरै जस्तो धानबालीमा पाइने भएकोले अहिलेको समयमा घोङीको खोजीमा महिलाहरु निस्कने गरेका छन् ।
असार देखि धेरै मात्रामा पाउने भएपनी थारु जातिको पर्व माघिमा विशेष परिकारको रुपमा घोङीलाई लिईने भएकाले यसको थारु समुदायमा विशेष महत्व रहेको छ। व्यवसायिक रुपमा भने यसको पालन हुन सकेको छैन् । व्यवसायिक रुपमा पालन नभएपनि बजारमा धान खेत तथा पानी जम्ने ठाँउबाट संकलन गरिएको घोङी पाउन सकिन्छ ।
संकलन गरिएको घोङी बजारमा प्रतिकेजी ५०/६० रुँपैयामा बिक्री हुने गरेको छ । पछिल्लो समय खेतबारीमा प्रयोग गरिने बिभिन्न किसिमको रासायनिक मल तथा बिषादिले गर्दा घोङी पहिलेको तुलनामा अहिले कम पाईन थालेको छ ।
अहिले भन्दा १५-२० वर्ष पहिले एक दिन संकलन गरेर आउँदा दुईतिन दिनसम्म पुग्ने गरेको भएपनी अहिले एकदिनलाई एक छाक पुर्याउन समेत गाह्रो हुन थालेको ईश्वरपुर-८ निवासी राधा चौधरी बताँउनु हुन्छ । आर्थिक तथा स्वास्थ्यको हिसावले पनि बहु उपयोगी यस्ता जलचर जिवको संरक्षण गर्न आवश्यक रहेको देखिन्छ ।



















