नेपाली काँग्रेस पार्टीभित्र आपसी मेलमिलाप छैन भन्ने कुरा सत्य होइन् : सभापति देउवा।

काठमाडाैं:= नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताउनुभएको छ ।

दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिवार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले सो दाबी गर्नुभएको हो ।

सभापति देउवाले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताउनु भयो । उहाँले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको समेत बताउनु भयो ।

देउवाले भन्नुभयो, ‘ठूला दललाई बिस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । काम गर्नुपर्‍यो भन्नु राम्रो कुरा हो नि । चुनौति आएको छैन । ठूला दलका ठूला नेताहरु त आलोचनाका पात्र हुँदै हुन त । आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ । आलोचना गर्नसम्म गर्नुस् न । ठूला दलको विश्वास गुम्यो तपाईले भन्नुभयो । तर मलाई त विश्वास छ भन्ने लाग्छ त । यसरी नभन्नुस् न त । तपाईले भनेको कुरा मैले मान्नुपर्छ भन्ने छैन । माफ गर्नुहोला । विद्यार्थीहरु विदेश पढ्न जान चाहन्छन् । रहर पुगेपछि फर्किहाल्नु हुन्छ नि । नेपाललाई माया गर्नुहुन्छ उहाँहरुले । पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन । तपाईहरुले भनेको कुरा सत्य होइनन् नि । मेलमिलाप गर्न खोजिराखेको छु । कहीँ समस्या छ भने समाधान गर्छु मैले ।’

सभापति देउवाले ठूला दल बिस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि दोहोर्‍याउनु भयो ।