कला र संस्कृतिको विकासले मात्रै देशको समृद्धिमा टेवा पुग्छ्न् : मन्त्री सुदन किराती।

काठमाडौं := संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले कला र संस्कृतिको विकासले मात्रै देशको समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको विकासले मात्रै देशको समृद्धिमा टेवा पुग्ने विचार व्यक्त गर्नुभएको हो ।

उहाँले रैथाने कलाको विकासमा प्रतिष्ठानले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रतिष्ठानले नीति निर्माण गर्दा पछिल्लो समयको हेक्का राख्दै निर्धारण गर्न आवश्यक भएको धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयालले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको जिकिर गर्नुभयो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले तीनवटै प्रतिष्ठान एउटै विधामा पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘रङ हामीलाई चाहिन्छ । हामीले पनि बुझ्नुपर्छ । डान्स, नाटकमा प्रयोग हुन्छ । सेट गर्दा मिक्स हुन्छ । लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ ।’ आफूलाई पनि आगामी दिनमा सल्लाह र सुझाव दिन आग्रह गर्दै उहाँले सबै प्रतिष्ठान मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

बागमती प्रदेशका सांसद सरल सहयात्रीले प्राज्ञसभाले आगामी दिनका लागि महत्वपूर्ण आधारशिला खडा गरोस् भन्ने कामना गर्नुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतीसँगै नयाँ अवसरसमेत रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै, मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीद्वारा लिखित पुस्तक ‘समसामयिक नेपाली मूर्तिकला र मूर्तिकार’ को समेत सार्वजनिक गरिएको थियोे । समारोहमा विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूको महत्वपूर्ण सहभागिता थियो ।