मौलिक पञ्चेबाजा बजाउने प्रचलन हराउँदै।

बाग्लुङ:= गलकोट नगरपालिका-२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्ष हुनुभयो । उहाँले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष भयो । १० वर्षकै उमेरदेखि बाजा बजाउन थाल्नु भएका दर्जी अहिले पनि मेला महोत्सव, विवाह तथा व्रतबन्धहरूमा पुग्नुहुन्छ। पञ्चेबाजाका रुपमा परिचित गलकोट क्षेत्रमा पछिल्लो समय बाजा बजाउने प्रचलन हराउन थालेको प्रतिदर्जी चिन्ता व्यक्त गनुहुन्छ । पछिल्लो केही वर्ष यता आयातीत विद्युतीय ‘साउण्ड सिस्टम’ ले पञ्चबाजा ओझेलमा पर्न थालेका छन् ।

पञ्चेबाजाप्रति युवाहरूले चासो नदिँदा लोप हुने खतरा बढेको हो । विशेषगरी दलित समुदायले बजाउँदै आएको पञ्चेबाजा अहिले अन्य समुदायका कलाकारहरूले पनि बजाउन थालेका छन् । बाजा बजाउने दलित समुदायको पुख्यौली पेशा भए पनि अहिले नयाँ पुस्ताले चासो दिँदैनन् । पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि गलकोट नगरपालिकाले यसको संरक्षणमा ध्यान दिएको छ । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरूप बाजालगायत आवश्यक सामग्रीहरू सहयोग गर्दै आएको छ ।

इन्द्रबहादुरले गाउँमा युवाहरू नहुँदा बाजा बजाउने समुहनै नपुग्ने गुनासो गर्नुहुन्छ । पहिले गाउँमा बाजा बजाउने धेरै समूह हुनेगरेको र माग पनि धेरै आउने गरेको भन्दै अहिले माग पनि घटेको र बजाउने कलाकारको समेत अभाव हुँदै गएको उहाँले बताउनुभयो । धेरै जसो युवा विदेश गएको र गाउँमा भएकाहरुले बाजा बजाउन लाज मान्ने गरेको दर्जीको भनाइ छ।

उहाँ भन्नुहुन्छ, ‘बाजा बजाउने प्रचलन त हाम्रो जिजु बाजेदेखि चल्दै आएको हो, हामीहरूले बाजा बाजाउन सिकेको होइन, हामीमा बाजाको ताल मिलाएर बजाउने ज्ञान ‘अटोमेटिक’ आउँछ, मैले नै बजाउन थालेको दशकौं भयो, अहिले पनि बजाउँदै आएको छ, अहिले पहिलाको जस्तो माग आउँदैन, पहिले त धेरै ठाउँबाट बाजा बजाउनका लागि बोलाउँथे, अहिले त बजाउने मान्छेनै छैनन्, गाउँमा भएका तन्नेरीहरु सबै लाउर गए, हामी बुढा भयौँ, टाढा जान सक्दैनौँ, नजिक नजिक मात्रै बझाउँछौँ ।’

सोही गाउँका लालबहादुर परियारले पनि बाजा बजाउन थालेको ४० वर्ष भयो । ४९ वर्षीय परियार अहिले पनि धेरै ठाउँमा बाजा बजाउन पुग्नुहुन्छ । दिनप्रति दिन बाजा बजाउने समूहका सदस्य घट्दै गएको भन्दै परियारले दुई/चार वर्ष पञ्चेबाजा बजाउने प्रचलननै हराउन सक्ने बताउनुहुन्छ । उहाँले पञ्चेबाजा बजाएर घर परिवार चलाएको सुनाउँदै आम्दानी पनि राम्रो हुने गरेको बताउनुभयो । एक दिनमै एउटा समूहले ३५/४० हजार रुपैयाँ कमाई गर्न सकिने परियारको भनाइ छ ।

पछिल्लो समय मेला महोत्सव र विवाहमा रेकर्टेड गीत बजाउने गरेको भन्दै पञ्चेबाजा ओझेलमा पर्न थालेको उहाँले बताउनुभयो । पहिले विवाहको महिनामा कुनै दिन खाली नहुने गरेको स्मरण गर्दै अहिले हप्तामा एकपटक पनि काम नपाएको परियारको गुनासो छ । उहाँले पञ्चेबाजासँगै मौलिक संस्कृति र परम्परा पनि लोप हुँदै जान थालेको बताउनुहुन्छ ।

‘पहिले बाजा नबजाएसम्म विवाह हुँदैनथ्यो, मेला महोत्सव र पर्वहरु रमाइलो हुँदैनथे, अहिले त बाजाको खास्सै वास्ता छैन, गीत संगीतले गर्दा होकी, जमाना फेरिएर हो बाजाको महत्व घटेको छ,’ परियारले भन्नुभयो, ‘बाजा बजाएरै छोराछोरी हुर्काइयो, पढाइयो, अहिले कमाई अरु केही छैन, हातमुख जोड्न पनि गाह्रो हुन्छ, कसैले बाजा बजाउन बोलाइहाले पनि समूह जम्मा गर्नै गाह्रोहुन्छ ।’

गलकोट नगरपालिका-२ का अध्यक्ष हिमबहादुर भण्डारीले पञ्चेबाजा गलकोटको पहिचान भएको भन्दै यसको संरक्षणका लागि पञ्चेबाजा समूहलाई तीन लाख बराबरको बाजा, कर्नाल र पोसाक उपलब्ध गराएको बताउनुभयो । पछिल्लो समय पञ्चेबाजा हराउँदै जान थालेपछि यसतर्फ बाजा बजाउने समूह तथा समुदायलाई आकर्षण गर्नका लागि वडा कार्यालय समय-समयमा सहयोग गर्दै आएको बताउनुभयो ।

अहिले यस क्षेत्रमा बाजा बजाउनेहरुको संख्या पनि निकै कम भएको बताउनुहुन्छ । अध्यक्ष भण्डारी भन्नुहुन्छ, ‘पञ्चेबाजामा हाम्रो पहिचान जोडिएको छ, कला संस्कृतिहरु मासिनु भनेको मानव जातिको अस्तित्व संकटमा पर्नु हो, त्यसले गर्दा यस्ता एतिहासिक महत्व बोकेका मौलिक संस्कृतिको संरक्षणमा हामीहरुले जोड दिएका छौं ।’