
कतार := पाँच पटकको विश्व च्याम्पियन राष्ट्र ब्राजिल फिफा विश्वकप फुटबल- २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई पहिलो १-० को अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गरे। २९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाए।

खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई ४-० को अग्रता दिलाएका हुन्।दक्षिण कोरियाका लागि खेलको ७६ औं मिनेटमा पाइक सुएङ होले एक गोल फर्काए।
ब्राजिलले जित निकालेसँगै अब अन्तिम आठमा ब्राजिल र क्रोएसियाबीच खेल हुने भएको छ। क्रोएसियाले आजै भएको खेलमा जापानलाई हराएर अन्तिम आठमा स्थान बनायो। निर्धारित र थप गरिएको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा क्रोएसिया ३-१ ले विजयी भयो।



















