पेनाल्टी सुटआउटमा जापानलाई ३-१ ले पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश।

कतार :=क्रोएसियातर्फका गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल जानोब रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो ।

जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको थियो। निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो।

खेलमा जापानले सुरुआती अग्रता लिएको थियो। खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए। खेलको ५५ औं मिनेटमा क्रोएसियाका लागि इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए।