कतार := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ मा नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे । यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो ।नेदरल्यान्ड्स समूह ‘ए’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
आयोजककै हैसियतमा विश्वकपमा डेब्यु गरेको कतारले भने समूह चरणको तीनवटै खेलमा पराजित भयो । यसअघि नै लगातार दुई खेल हारेपछि समूह चरणबाट बाहिरिसकेको कतारको अन्तिम खेललाई सुखद बनाउने चाहना पूरा हुन सकेन । कतार विश्वकपमा समूहको सबै तीन खेल हार्ने पहिलो आयोजकसमेत बन्यो ।




















