कतार := कतारमा जारी फिफा विश्वकप फुटबल -२०२२ मा पोर्चुगलले दुईपल्टका पुर्व विश्वकपका विजेता उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको छ। बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
दुवै टिमले स्तरीय खेलको नमूना प्रस्तुत गरेका थिए । तर, गोल दोस्रो हाफमा मात्र सम्भव भयो । ५४ औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भयो ।

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले बल आफ्नो टाउकोलाई छोएर गोल भएको दावी गरे पनि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नोले नै गोलकर्ताको मान्यता पाए ।
यो हारपछि उरुग्वे समूह चरणबाटै घर फर्किन सक्ने खतरा बढेको छ। नकआउट चरणमा प्रवेश पाउन उरुग्वेले समूहको अन्तिम खेलमा घानालाई पराजित गर्नुपर्नेछ भने पोर्चुगलले दक्षिण कोरियालाई हराउनुपर्नेछ ।




















