सर्लाही := सर्लाही–२ बाट प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले पराजित गर्दै यादव सांसद निर्वाचित भएका हुन्।
महिन्द्रले २३ हजार ५२९ मत पाउँदा राजेन्द्रले २१ हजार ५१८ मत पाए । २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुगेका थिए । महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी सत्ता गठबन्धनमा रहे पनि यो क्षेत्रमा भने सत्त गठबन्धनले यादवलाई साथ दिएको थियो।
वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएका छन् । संविधानसभा निर्वाचन–२०७० मा पनि सर्लाही–५ मा महिन्द्रले राजेन्द्रलाई नै हराएका थिए । त्यस बेला पनि महिन्द्रले २ हजार ७८४ मतअन्तरले राजेन्द्रलाई पराजित गरेका थिए । यो हारले ६५ वर्षीय राजेन्द्रको आगामी राजनीति यात्रा चुनौतीपूर्ण बनेको छ ।




















