अबको पाँच वर्ष भित्र सप्तरी जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउँछु : डा. सीके राउत।

राजविराज (सप्तरी):= प्रतिनिधिसभा सदस्य पदमा पहिलो पटक निर्वाचित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अबको पाँच वर्ष भित्र सप्तरीलाई पूर्ण साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट ३५ हजार ४२ ल्याउनु भएका विजय प्राप्त गरे पछि बुधबार राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । डा. राउतले राजनीतिक संस्कारको स्थापना आफ्नो पहिलो एजेन्डा भएको पनि बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्दै किसानको समस्या समाधानका लागि काम गर्ने उल्लेख गर्नुभयो।

“विद्वान रूपमा चिनिँदै आएको यो जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने, राजनीतिक संस्कारको स्थापना गर्दै स्वास्थ्य क्षेत्रमा सुधार र किसानको समस्या समाधान गर्ने मेरो प्रथम दायित्व जनताप्रति हुनेछ,” उहाँले भन्नुभयो, “प्रतिपरिवारलाई रोजगारीसँग जोड्ने काम गर्नेछु ।” उहाँले कुपोषण हटाउनुका साथै स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने गरी व्यवस्थापन गराउन लाग्ने बताउनु भयो । किसानको मलखाद्य र कृषि मिटर,कृषि ऋण लगायतका पहुँचका लागि आवश्यक कार्य गर्ने उहाँले बताउनु भयो ।

उहाँले निर्वाचन प्रक्रियामा सहभागी मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद व्यक्त गर्नुभयो । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राउतसहित प्रदेशसभा सदस्य सतिशकुमार सिंह र महेशप्रसाद यादवलाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हासिल गर्नुभएको हो ।