कैलाली := कैलाली क्षेत्र नम्बर ३ बाट केहि महिना पहिलेदेखी मात्रै उदाएका जेल सजाय भोगिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार गंगाराम चौधरीले एक सिटमा जित हासिल गरि खाता खोलेको छ।
उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे । कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको छ ।
अब संसदमा टीकापुर घटनाबारेको प्रतिवेदन सार्वजनिक गर्न पहिलो आवाज उठाउने गंगारामको तयारी छ। ‘सदनमा बोलेको अन्तर्राष्ट्रिय समुदायले सुन्छ, ७, ८ वर्ष भइसक्दा किन टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक भएन? भनेर बोल्ने छौं,’ उनले भने।
योसँगै किसानका समस्या, बाढी पीडितका समस्या, बाटो घाटोको विषय, विकास र रोगजगारका एजेण्डा सुनाएर नागरिकसँग भोट मागेको र सदनमा गएपछि यी कुराहरू राख्ने अनि पूरा गर्ने उनले बताए।
कैलालीमा १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीको सुरूआतदेखि नै अग्रता कायमै रहेको छ। साथै नाउपाले बर्दियामा पनि राम्रै मत पाइरहेको छ।




















