चितवनमा माइक्रो बस दुर्घटना हुँदा सञ्चारकर्मी महावीर विश्वकर्माको निधन।

चितवन := चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ। चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको हो ।

चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उहाँ चढेको माइक्रोबस दुर्घटना भएको थियो।

सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा अन्य चार,पाँच जना घाइते भएका छन्। घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना २ ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो।

ट्रकको पछाडि भागमा ठोक्किएर माइक्रो कुच्चिएपछि घाइते विश्वकर्मालाई अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उहाँको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने छ।

थाहासञ्चार नेटवर्कबाट प्रशारण हुने चर्चित रेडियो कार्यक्रम “बहकिने मन” का प्रस्तोता विश्वकर्मा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिव हुनुहुन्थ्यो । रासस