फिफा विश्वकप फुटबल-२०२२: नेदरल्यान्ड्सले सेनेगललाई २-० गोल अन्तरले हरायो।

कतार := कोडी गाक्पो र डेभी क्लासेनको गोलमा युरोपेली महारथी नेदरल्यान्ड्सले कतार फिफा विश्वकप २०२२ मा सेनेगललाई २-० गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको छ ।

दोहाको अल थुमामा रंगशालामा अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको वर्षका उत्कृष्ट डच फुटबलर घोषित गाक्पोले खेल सकिन पाँच मिनेट बाँकी रहँदा गोल अग्रता दिलाएका थिए। गाक्पोले फ्रयांन्किङ डी योङको पासमा गोल गरेका थिए।

इन्जुरी समयको नवौं मिनेटमा बैकल्पिक खेलाडी क्लासेनले दोस्रो गोल गरेका थिए । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएको प्रहार सेनेगलका गोलरक्षक इडुवार्ड मेन्डीले फर्काएपछि रिबाउन्डमा क्लासेनले गोल गरेका थिए ।

जितपछि नेदरल्यान्ड्सले तीन अंकका साथ समूहको शीर्ष स्थानमा इक्वेडरसँग बराबरी गरेको छ । आइतबार भएको उद्घाटन खेलमा आयोजक कतारमाथि दक्षिण अमेरिकी टोली इक्वेडरले २–० को जित हासिल गरेको थियो ।

समूहको दोस्रो खेलमा शुक्रबार नेदरल्यान्ड्सले इक्वेडर तथा सेनेगलले आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछन् ।