नेपालमा देशभर एकसाथ मतदान सुरु।

काठमाडौं:= नेपालमा नयाँ सरकार गठन र प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान शुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने जानकारी दिए।

नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरेर मतदान सुरु गरिएको उनको भनाइ छ।

उनले ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वानसमेत गरेका छन्। देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन्।

प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका लागि आज प्रत्यक्ष मतदान शुरु भएको हो । त्यसैगरी प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फका लागि पनि आजै मतदान भइरहेको छ । त्यसका लागि आयोगले ४ वटा मतपत्रको व्यवस्था गरेको छ ।

मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ । निर्वाचन सम्पन्न गर्नका लागि साढे ५ लाखजति सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । मुलुक संघीयतामा गएपछि संघीय संरचना अनुसारको यो दोस्रो निर्वाचन हो ।

यस अघि २०७४ मा स्थानीय,संघीय संसद र प्रदेश सभाको निर्वाचन भएको थियो । स्थानीय तहको दोस्रो निर्वाचन भने गत बैशाख ३० मा सम्पन्न भएको थियो । २०७४ मा दुई चरण गरेर निर्वाचन सम्पन्न भएको थियो । तर यसपटक एकै चरणमा निर्वाचन भएको हो ।

निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र लैजानु पर्ने जनाएको छ । यदि मतदाता परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र,लालपूर्जा र राहदानीका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ