आस्था राउतको स्वरमा सजिएको गीत ‘कोसिस गर’ युट्युबमा सार्वजनिक।

काठमाडौं := गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । सावित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेञ्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाइमा भरपर्ने हो’, आस्थाले भन्नुभयो । भिडियोमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’की रीता राई, ईश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्वलाई फिचरिङ गरिएको छ ।

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । दृष्टिविहीनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहीनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायत दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ।

भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रूपमा प्रस्तुत हुनुभएको छ । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहीन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाउनुभएको छ ।

गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतमार्फत सार्वजनिक भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ ।