एजेन्सी (दोहा):= सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकप फुटबलको इतिहासमै सबैभन्दा महत्त्वपूर्ण घटनामध्ये गनिन्छ । अहिले फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल बनेको छ तर कुनै समयमा फुटबललाई खेलसमेत मानिँदैनथ्यो। फुटबल कहिलेदेखि कहाँबाट सुरु भयो भन्ने यकिन तथ्य नभए पनि यसको इतिहास तीन हजार वर्षभन्दा लामो रहेको मानिन्छ। हजारौँ वर्षमा फरक फरक चरण पार गर्दै स्वरूप फेर्दै फुटबल अहिलेको अवस्थामा आएको फुटबलका विज्ञ बताउँछन् ।
फुटबललाई इसापूर्व ३०२ सय वर्षअघि चीनमा खेलिने खेलको नजिक रहेको पनि बताइन्छ । सुजु नामक उक्त खेलको नियम लिखित रूपमा नभेटिए पनि बाहिर छाला र भित्र चराको प्वाँख राखेर बनाइएको बललाई गोडाले हानेर खेल्ने गरिन्थ्यो । सोही खेलको परिमार्जित संस्करण जापानमा पनि खेल्ने गरेको बताइन्छ । इतिहासविद्का अनुसार केमारी नामक उक्त खेल विभिन्न पर्वमा खेल्ने गरिन्थ्यो ।
त्यस्तै, ग्रिसमा पनि खुट्टाले बल हान्ने खेल प्रचलनमा रहेको अभिलेख पाइन्छ । जसमा छालाको बल बनाएर भित्र विभिन्न जनावरको रौँ राखेर खेलिन्थ्यो । त्यसपछि सातौँ शताब्दीतिर हावा भरेको बल पहिलोपटक प्रचलनमा आएको बताइन्छ ।
केही ठाउँमा सांस्कृतिक महत्वका रूपमा त कहीँ सैनिकहरूलाई अभ्यास गराउन खेलाइने फुटबललाई दर्शकसहित छुट्टै मैदानमा खेल्ने र धेरै मानिसलाई मनोरञ्जन दिन योग्य खेलको रूपमा भने लिइन्थेन। १८औं शताब्दीको अन्त्यतिर फुटबल खेल बेलायत भित्रियो। त्यसपछि उन्नाइसौँ सदीको मध्यसम्म आइपुग्दा फुटबलका धेरै नियम परिमार्जित गरी एउटा पूर्ण खेलको रूपमा विकास भयो । सोही नियममा आधारित रहेर अहिले फुटबल खेलिन्छ ।
ओलम्पिकमा फुटबल
सन् १८९६ मा आयोजना भएको पहिलो ओलम्पिक खेलमा नौ वटा खेल समावेश थिए । जसमा फुटबल थिएन। त्यति वेलासम्म फुटबल नयाँ खेलको रूपमा बिस्तारै चर्चामा आउँदै थियो । सन् १९०० मा नयाँ शताब्दीको सुरुवातको अवसरमा ओलम्पिकले फुटबलसहित दशवटा अरू खेल थप्यो । जुन फुटबलका लागि ऐतिहासिक घटना मानिन्छ ।
सन् १९०० को ओलम्पिकमा फुटबलका लागि बेलायत, फ्रान्स र बेल्जियमको नेतृत्व गर्दै तीन राष्ट्रिय क्लब सहभागी भए । जसमा बेलायतको अपटोन पार्कले स्वर्ण जितेको थियो । त्यसपछि १९०४ को ओलम्पिकमा तीन र १९०८ को ओलम्पिकमा ६ टोली सहभागी थिए ।
बिस्तारै फुटबलको लोकप्रियता विश्वभर बढ्दै गयो । जस कारण १९१२, १९२० र १९२४ को ओलम्पिकमा फुटबलका लागि प्रतिस्पर्धा गर्ने देशहरूको संख्या पनि ११, १४, २२ गर्दै क्रमशः बढ्दै गयो । शुरुदेखि नै सबैभन्दा बलियो टोलीको रूपमा रहेको बेलायतलाई टक्कर दिने अरू नर्वे, बेल्जियम, उरुग्वे जस्ता टोली निस्किए ।
१९२० को ओलम्पिकमा बेल्जियमले स्वर्ण पदक जित्यो भने त्यसपछिका १९२४ र १९२८ ओलम्पिकको स्वर्ण उरुग्वेले लग्यो । त्यति वेलासम्म फुटबलको क्रेज अर्को स्तरमा पुगिसकेको थियो ।
ओलम्पिकमा अन्य खेलहरूसँगै एउटा खेलको रूपमा खेलाइँदा तत्कालीन फिफा अध्यक्ष जुलेस रिमेटलाई फुटबल छायाँमा परेको भान भयो र फुटबलको लागि छुट्टै प्रतियोगिता आयोजना गरिनुपर्ने विचार आयो। सोही अनुरूप सन् १९३० मा पहिलो फुटबल विश्वकप आयोजना हुने घोषणा भयो ।
पहिलो विश्वकप
विश्वकपको घोषणा भए पनि कुन ठाउँमा आयोजना गर्ने भन्ने टुंगो थिएन । आफ्नो स्वतन्त्रताको सय वर्ष पूरा भएकाले पहिलो विश्वकप उरुग्वेमा आयोजना गर्न उरुग्वे सरकारले फिफालाई अनुरोध गरिरहेको थियो । त्यतिवेला ओलम्पिकमा स्वर्ण जित्ने टोली नै विश्व विजेता कहलिन्थ्यो । लगातार दुईपटकको विश्व विजेता टोलीले स्वतन्त्रताको सय वर्ष पहिलो विश्वकपको आयोजना गरेर मनाउँछौँ भन्दा फिफाले हार्न सकेन र पहिलो विश्वकप १९३० जुलाई १३ देखि ३० सम्म उरुग्वेको मोन्तेभिदियोमा आयोजना हुने निश्चित भयो ।
पहिलो विश्वकपमा अर्जेन्टिना, चिली, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, रोमनिया, पेरु र आयोजक उरुग्वे गरी १३ देश सहभागी थिए । तीमध्ये उरुग्वेसहित युगोस्लाभिया, अर्जेन्टिना र अमेरिका आ-आफ्नो समूहको विजेता बन्दै सेमिफानलमा प्रवेश गरे ।
ग्रुप तीनमा रहेको उरुग्वेले रोमनिया र पेरुलाई हराउँदै सेमिफानल पुगेको थियो । जहाँ उसले ब्राजिल र बोलिभियालाई हराउँदै समूह दुई को विजेता बनेको युगोस्लोभियाको सामना गर्नुप¥यो भने अर्को सेमिफाइनलमा अर्जेन्टिना र अमेरिका भिड्दै थिए । अर्जेन्टिना र उरुग्वे दुवै टोलीले ६–एक गोल अन्तरको जित निकाल्दै पहिलो विश्वकपको फाइनलमा प्रवेश गरे ।
१९३० जुलाई ३० मा भएको फाइनल खेल प्रत्यक्ष हेर्न ९० हजारभन्दा बढी मान्छे पुगेका थिए । दुई वर्षअघि भएको १९२८ को ओलम्पिक फाइनलमा भेटेका प्रतिद्वन्द्वी पहिलो विश्वकपको फाइनलमा पनि भेट भएका थिए । जसकारण पहिलो विश्वकप फाइनलको हाइप अर्को स्तरमा थियो ।
झण्डै १५ हजार अर्जेन्टिनी आफ्नो टोलीलाई जिताउन प्लेट नदी तरेर मोन्तेभिदियो पुगेका थिए तर पहिलो विश्वकपको फाइलनमा पनि ओलम्पिककै फाइनल नतिजा दोहोरियो। उरुग्वे चार-दुईले विजयी हुँदै विश्वकप उपाधि जित्न सफल भयो। त्यसपछि सन् १९५० मा उरुग्वेले दोस्रोपटक विश्वकपको उपाधि जित्यो । त्यसपछि भने उरुग्वे फाइनलसम्म पनि पुग्न सकेको छैन । उरुग्वेमा आयोजना भएको विश्वकप पनि १९३० कै पहिलो र अन्तिम हो ।
विश्वकप २०२२
कतारमा आयोजित २२ औं विश्वकपमा आठ समूहमा ३२ टोलीले प्रतिस्पर्धा गर्दै छन् जसमा उरुग्वे, घाना, साउथ कोरिया र पोर्चुगलसहित ग्रुप एचमा रहेको छ । विश्वकप शुरु भएको झण्डै सय वर्ष पुग्न लाग्दा ब्राजिल सबैभन्दा बढी पाँचपटक विश्व विजेता बनेको छ भने इटाली र जर्मनीले चारचार पटक विश्वकप जितेका छन् ।
पहिलो विश्वकपमा उरुग्वेसँग हारेको अर्जेन्टिना पनि सन् १९७८ र १९८६ मा विश्व विजेता बन्यो । फिफाको वर्तमान वरीयता अनुसार ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिनासहित बेल्जियम, फ्रान्स, बेलायत, स्पेन, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्क बलिया टोलीमध्येमा गनिन्छन् । फिफा वरीयतामा उरुग्वे १३ औँ नम्बरमा रहेको छ ।
२०२२ सम्म आइपुग्दा दुई सयभन्दा बढी देशमा २५ करोडभन्दा बढी खेलाडी सक्रिय रूपमा फुटबल खेल्ने गर्छन् भने साढे तीन अर्बले पछ्याउने गर्छन् । जसले गर्दा फुटबल वर्तमान समयको सबैभन्दा लोकप्रिय खेल बनेको छ ।
यति वेला विश्वकप खेल्दै गरेका वा विश्वकपमा छनोट हुन नसकेका सबै देश फुटबलमय बनेका छन् । कुनै समय खेलसमेत नमानिएको फुटबलको विश्वकपलाई खेल जगत्को सबैभन्दा ठूलो पर्वको रूपमा लिने गरिन्छ ।
सबैभन्दा पाको टोली अर्जेन्टिना
विश्वकप आज (आइतबार)देखि शुरु हुँदैछ । यो बीचमा कतारमा खेल्ने सबै राष्ट्रभन्दा पाको टोली अर्जेन्टिनाको रहेको छ । टोलीमा रहेका खेलाडीको उमेरका हिसाबले औसत निकाल्दा अर्जेन्टिना बूढो टोलीका रूपमा देखिएको हो ।
अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ । टोलीमा रहनुभएका कप्तान लियोनल मेसी र तीनैजना गोलकिपरसहित नौ जना कम्तिमा ३० वर्ष उमेरका हुनुहुन्छ । सबैभन्दा कान्छा खेलाडीका रूपमा २१ वर्षीय मिडफिल्डर एन्जो फर्नान्डेज हुनुहुन्छ । ६ जना २४ वर्षका खेलाडी छन् । २२ र २३ वर्षका पनि एक–एक खेलाडी छन् ।
कतार विश्वकपको सबैभन्दा युवा भने अमेरिकी टोली रहेको छ । टोलीमा रहेका खेलाडीको औसत उमेर २४.५ वर्ष रहेको छ । टोलीमा कम्तिमा ३० वर्ष उमेरका तीन जना खेलाडी छन् । २५ वा त्यसभन्दा कम उमेरका खेलाडीको संख्या १५ रहेको छ । यस्तै, २० वा त्यसभन्दा कम उमेरका तीन जना छन् ।




















