एजेन्सी (कतार):= विश्व फुटबलको महाकुम्भ मेला फिफा विश्व कप फुटबल प्रतियोगिता-२०२२ आजदेखि कतारमा सुरु हुँदैछ। उद्घाटन खेलमा आज आयोजक कतार र इक्वेडरबीच अल बयाट स्टेडियममा उद्घाटन खेल भएसँगै विश्वकपको सुरुवात हुनेछ ।
सोही स्टेडियममा एक भव्य कार्यक्रमबीच उद्घाटन समारोह हुनेछ । जसमा विश्व देशका प्रमुखहरू, सहभागी टोली, खेलाडी, आयोजक, दर्शकलगायत हजारौँको उपस्थिति हुनेछ। कोरियन चर्चित गायन समूह बिटिएसलगायत विश्व चर्चित सेलिब्रेटीहरूले उद्घाटनमा माहोल तताउनेछन् ।
२२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन्। ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् ।
राजधानी दोहा वरिपरि रहेका आठ स्टेडियममा विश्वकपका खेलहरू हुँदै छन् । २००२ मा एसियाका जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपपछि एसियामा हुन लागेको यो दोस्रो विश्वकप हो । मरुभूमिको देश कतारमा २७ लाख मात्रै जनसंख्या छ ।
जसमा तीन लाख कतारी हुन् भने बाँकी आप्रवासी हुन् । प्राकृतिक तेल र ग्याँसको भण्डार रहेको यस देशले आफ्नो अथाहा सम्पत्तिको बलमा पहिलोपल्ट अरबी भूमिमा विश्व फुटबलको महाकुम्भ कतार विश्वकप आयोजना गर्न लागेको हो।
सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म ८ वटा देशले मात्रै उपाधि जितेका छन् । जसमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जितेको छ । यस्तै, इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।



















