राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा।

Nepali cricketer Sandeep Lamichhane (C) is escorted by police after being taken into custody to face rape charges, at Tribhuvan international airport in Kathmandu on October 6, 2022. - Fugitive cricket star Sandeep Lamichhane returned to Nepal on October 6 to face rape charges nearly a month after an arrest warrant was issued. Lamichhane, who denies the charges, was immediately taken into custody, Dinesh Raj Mainali, a spokesman for Kathmandu district police, told AFP. (Photo by Barsha SHAH / AFP) (Photo by BARSHA SHAH/AFP via Getty Images)

काठमाडौं:= काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार अभियोगमा मुद्दा भोगिरहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउँन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनुभएको हो । गत मंगलबारदेखि जारी सुनुवाइको क्रममा शुक्रबार पीडितको पक्षबाट जवाफी बहस सकिएसँगै उक्त आदेश आएको हो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गर्नुभएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गरिएको थियो । पुर्पक्षमा पठाउने आदेश आएपछि सन्दीपका वकिल सविता भण्डारीले आदेशविरुद्ध उच्च अदालतमा जाने बताउनुभयो ।

‘सन्दीपलाई थुनामा राखेर मुद्दा अगाडि बढाउने वा बाहिर राखेर मुद्दा अगाडि बढाउँने भन्ने विषयमा बहस भएको थियो,’ उहाँले भन्नुभयो, ‘काराबारभित्रै राखेर मुद्दामा जाने आदेश आएको छ । हामी यसको रिभ्युमा जान्छौं । हामीसँग यथाशीघ्र प्रमाण छन् । जिल्ला अदालतबाट नपाए पनि माथिल्लो अदालतबाट न्याय पाउँछौं भन्ने हामीले आशा लिएका छौं ।’

उहाँले अदालतले थुनामा राखेको छ भन्दैमा अदालतमा आफूहरूले पेश गरेका प्रमाणलाई नकरात्मक रूपमा हेरिएको भनि अर्थ नलगाउन नहुने बताउनुभयो । भोलिका दिनमा सन्दीपले सफाइ पाउने विश्वास आफूहरूको रहेको उहाँको भनाइ थियो । सन्दीपका वकिलहरूले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष तीन महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए । लामिछानेविरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले जवाफी बहस गर्नुभएको थियो ।

सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ । तर, लामिछानेले भने आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान सरकारी वकिल र इजलासमा दिएका थिए । लामिछानेले नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुईपटक बलात्कार गरेको आरोप छ । त्यसपछि उनीविरुद्ध गत भदौ २१ गते गौशाला प्रहरी बृत्तमा बलात्कारसम्बन्धी जाहेरी परेको थियो ।

नेपाली राष्ट्रिय टिमसहित क्रिकेट खेल्न केन्या हुँदै वेष्टइण्डिज पुगेका उनी बलात्कार आरोप लागेपछि एक महिना विदेशमै बसेका थिए । त्यसपछि उनी नेपाल फर्कने क्रममा गत असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । मुलुकी अपराधसंहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ ।

सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्र अनुसार उमेर १७ वर्ष दुई महिना उल्लेख छ ।