साउदी अरेबिया := १५ बर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहालको मृत्युदण्ड ( फासी) को सजाय कार्यान्वयन गरिएको छ । मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उनको मृत्युदण्डपछि शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ ।
जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए ।
दाहाललाई माफी दिनेमा आफुहरु ढुक्क रहेको अवस्थामा एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आएको उनले बताए । जेल प्रशासनले मृत्युदण्ड दिईएको ४८ घण्टापछि मात्रै सूचना दिएको दुतावासले जनाएको छ ।
विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।
२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।
पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भए ।
‘विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट भएन । त्योसँगै उनीमाथि पशु करणीको पनि मुद्दा थियो । यो मुद्दाले गर्दा अदालतबाट माफी भएन,’ नेपाली दूतावासका एक अधिकारीले भने, ‘नेपालको तर्फबाट उच्च तहमा पटकपटक पहल गरेपनि सुनुवाइ हुन सकेन ।’
दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र पठाएकी थिइन् । त्यसबाहेक साउदीका सबै तहमा पनि दूतावासले पहल गर्दै आइरहेको थियो । गत मार्चमा नेपाल भ्रमणमा आएका साउदीको परराष्ट्र मन्त्रीसमक्ष पनि दाहाललाई माफी दिन सरकारले औपचारिक आग्रह गरेको थियो ।