भारतीय राष्ट्रिय कंग्रेस पार्टीको नयाँ अध्यक्षमा माल्लिकार्जुन खड्गे विजयी।

एजेन्सी:= भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खड्गे विजयी भएका छन् । सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्प्रर्धा भएको थियो ।

पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो । कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए ।

खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसैबीच, निर्वाचनमा धाँधली भएको थरुरले आरोप लगाए पनि थरूरले हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन्।

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ। गान्धी परिवार बाहिरका भए पनि गान्धी परिवारसँग उनको निकट सम्बन्ध छ। यो चुनावमा गान्धी परिवारले उनैलाई सघाएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ। ८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्।

उनले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्।  पार्टीका संरचनामा ५०  मानिस ५० वर्षमुनिका राख्ने उनको योजना छ।

कर्नाटकाका खड्गे दलित समुदायका हुन्। उनको राजनीतिक जीवन निकै लामो छ। अहिले उनी भारतको माथिल्लो सदन राज्य सभाका सदस्य छन्। कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो।

सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्। त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए।

सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए। राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसकी अध्यक्ष बनेकी थिइन्।