फिल्म समीक्षाः ‘ऐना झ्यालको पुतली’ गम्भीर विषयको सरल तरिकाले प्रस्तुति।

काठमाण्डौं:= केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ ।

कथ्य शैली, नेपाली परिवेश र विश्व फिल्मसँग नेपाली कथालाई जोड्ने ‘ऐना झ्यालको पुतली’ सुजित बिडारीद्वारा निर्देशित फिल्म हो । यहीँ फिल्मले एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेमेडी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दैछ ।

प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर प्रतियोगितामा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको अध्यक्ष विमल पौडेलको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेको हो ।

व्यावसायिकरुपमा पनि सन्तोषजनक सफलता हात पारिरहेको फिल्म ५० को दशकको ग्रामीण समाजको दर्पण बनेको छ । नन एक्टर अर्थात् अभिनय नजानेको कलाकारको बाहुल्यता रहेको फिल्मले हामीलाई २०५२ सालको आसपासको ग्रामीण परिवेशमा लैजान्छ ।

मौलिक कथा वाचन गर्दागर्दै लेखक तथा निर्देशक बिडारीले फिल्मी शैली अपनाउनु भएको छ । मौलिक फिल्ममा मनोरञ्जन नभएको गुनासो बढिरहँदा यस फिल्मले दर्शकलाई तृप्त बनाउन सफल भएको छ । विद्या (कञ्चन चिमरिया), वसन्त (दिनेश खत्री) र आमा (सिरु विष्ट) मा फिल्म केन्द्रित छ ।

सङ्खुवासभाको ज्यामिरेका यिनै तीन चरित्रमार्फत ग्रामीण समाजमा छोरीले भोग्ने पीडालाई देखाइएको छ । दिदी विद्या र भाइ वसन्तलाई हुर्काउन आमाले गरेको सङ्घर्ष, विद्यालाई ७ कक्षा पास गरेर ८ कक्षा पढ्न ठूलो स्कुल जाने रहर र वसन्तको बालापनमार्फत फिल्मले ज्यामिरेको परिवेश देखाएको छ ।

विद्यालाई सहर गएर ठूलो स्कुल पढ्ने रहर छ । सधैँजसो कक्षामा पहिले हुने विद्या ८ कक्षामा पुग्दा दोस्रो भएकी छिन् । उनको पढ्ने रहर पूरा गर्ने चाहना आमाको नभएको होइन तर ग्रामीण भेगमा एक्लै घरमूली बन्नुभएकी आमालाई सहज छैन । घरखर्च चलाउनु छ । छोराछोरीलाई पनि पढाउनु छ । उहाँलाई श्रीमानकाे साथ छैन । एक्लै घर चलाउँदा महिलाले गरिरहेको सङ्घर्षमार्फत आमाले आफ्नो इच्छा मारेर छोरीको सपना पूरा गर्ने अठोट गर्नुहुन्छ ।

विभिन्न बाधा अड्चनले त्यसलाई रोकिरहेका छन् । विद्यालाई छात्रवृत्तिले सपना पूरा गराउन सक्थ्यो । यद्यपि दोस्रो भएको कारण त्यो बाटो पनि बन्द भयो । उनलाई पढ्ने रहर नभएको होइन । तर आमालाई काममा सघाएर पढ्नुपर्ने भएकाले कक्षा उक्लिँदै गर्दा विद्यालाई पहिलो स्थानमा रहन मुस्किल भएको हो। उनी दोस्रो भएकी हुन् ।

आमाले घरखर्चको लागि जुटाएको रकम छोरीको शिक्षामा खर्च गर्न तयार भए पनि त्यो सपना पूरा हुँदैन । घरमा परदेशबाट आइपुग्नुभएको बुबाले स्कुल भर्ना गर्न राखिएको रकम मध्यपानमा गरेर खर्चिंदा फिल्ममा आन्तरिक पारिवारिकद्वन्द्व सुरु हुन्छ । छोरीले बुबालाई सपनाको बाधक मान्छिन् ।

किनकी उनी त्यो रकम लिएर गाउँले मितिनीसँग पढ्न सहर जान तयार भएकी हुन्छिन् । उनी आफू कक्षामा अन्य विद्यार्थीको दाजोमा पढाइमा बलियो भए पनि आर्थिक अभावले पढ्ने रहरलाई पूरा गर्न सकेकी छैनन् । विद्याले पढ्ने सपनामा बाचिरहँदा उनको भाइ वसन्त भने बालापनमा रमाइरहेका छन् ।

वसन्तको रुचि पढाइभन्दा अन्य क्रियाकलापमा बढी देखिन्छ । उनको माध्यमबाट ग्रामीण बालापनलाई अनुभव गर्न सकिन्छ । विद्याझैँ वसन्त पनि नन एक्टर हुन् । अर्थात् उनीहरु व्यावसायिक कलाकार होइनन् । फिल्ममा पहिलो पटक काम गरेका कलाकार हुन् । उनले अभिनय गरेका छैनन, बालापन बाँचेका छन् । जसले उनलाई पनि ‘क्लासिक’ बनाउन मद्दत गरेको छ ।

वसन्त दिदीलाई आमाले बढी माया गरेको गुनासो गरिरहन्छन् । किनकी उनलाई फिल्म हेर्न, खाजा खान खोजे जति रकम प्राप्त छैन । उनले बोल्ने संवाद र गर्ने गतिविधिले फिल्ममा मनोरञ्जन दिएको छ । फिल्मले ज्यामिरे गाउँमार्फत देखाउन खोजेको कथाले हरेक ग्रामीण क्षेत्रलाई प्रतिनिधित्व गर्छ । निर्देशक बिडारीले गाउँ ज्यामिरेलाई पूरा देशका घटनाक्रमसँग पनि जोड्नुभएको छ ।

फिल्म २०५२ सालबाट सुरु भएको फिल्ममा यहीँ सालको फागुनबाट सुरु भएको माओवादी द्वन्द्वलाई रेडियोको समाचारमार्फत स्थापित गरिएको छ । त्यो समयमा देशमा भइरहेका अरु घटनालाई पनि निर्देशकले यही रेडियोमार्फत वाचन गरेर फिल्मलाई गाउँमा मात्र सीमित राख्नुभएको छैन ।

फिल्मको सुन्दर पक्ष भनेकै पढ्ने चाहना बोकेर हर प्रयास गर्ने विद्या र उनको प्रयासलाई रोक्ने समाजबीचको अन्तर द्वन्द्व हो । मूल कथालाई नछाडी बुनिएका स-साना कथाले सौन्दर्य थपेको छ । घरको नाजुक आर्थिक अवस्था, दायित्वबाट पन्छिएका बुबा, आफूलाई नबुझ्ने समाजमा विद्याको सपना पूरा र अन्त्य एकैपटक हुन्छ ।

निर्देशक बिडारीले उल्लेखित पक्षलाई मार्मिकरुपमा प्रस्तुत गर्नुभएको छ । सपना बाँच्ने पात्रको प्राप्ति र अन्त्यलाई एकै दृश्यमार्फत प्रस्तुत गर्नुले उहाँको निर्देशकीय कौशलतालाई प्रस्ट्याउछ । यो फिल्मको कथा जति सरल छ, उत्तिकै कलात्मक । समाजमा विधमान गहन विषयलाई यसमा सरल तरिकाले प्रस्तुत गरिएको छ ।

उहाँ आफ्नो काम र प्रस्तुतिमा पूर्णरुपमा प्रष्ट हुनुहुन्छ । हाम्रो घर र समाजकै कथालाई ठूलो पर्दामा प्रस्तुत गरिएकाले फिल्म हेरिरहँदा पात्रसँग सहजै सम्बन्ध स्थापित हुन्छ । ‘ऐना झ्यालको पुतली’ गाउँको कथा हो र गाउँमै सकिन्छ तर यसले सहरलाई त्यहाँको समस्या, सौन्दर्यतासँगै सम्भावनासमेत औँल्याउन मद्दत गर्छ ।

नेपालमा पछिल्ला केही वर्षमा मौलिक कथामा उस्तै शिल्पसहित फिल्म बनाउने सर्जकको जमात बढेको छ । यो स्वागतयोग्य छ तर यस पटकको स्वाद स्वस्थ्यकर भएर पनि उत्तिकै मीठो छ । रासस