युएईमा कार,गाडी धुने काम गर्ने नेपाली श्रमिक भरतले जिते रु.३४ करोड रुपैयाँको चिट्ठा।

युएई (दुबई):= वैदेशिक रोजगारीको सिलसिलामा युएई (दुबई) मा काम गर्दै आएका नेपालका एक श्रमिक युवकले झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।

केही वर्षदेखि दुबईमा कार,गाडी धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । १०  मिलियन अर्थात् १ करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहेको गल्फन्यूजले जनाएको छ ।

९४ औं मजुज विक्ली र्याफल ड्रमा चिठ्ठा भरेका उनको रातारात भाग्य खुलेको हो। उक्त चिठ्ठाको विजेताले एक करोड दिराम प्राप्त गर्ने प्रावधान छ। सो रकम नेपाली रुपैयाँमा ३४ करोड ५० लाख रुपैयाँ हुन आउँछ।

उनलाई इविंग्स कम्पनीका सीईओ फरिद साम्जीले रकमको चेक हस्तान्तरण गरेका छन्। इविंग्सले मजुज चिठ्ठा खेलाउने गर्दछ। हप्तैपिच्छे आयोजना हुने चिठ्ठाले कयौंको जीवन परिवर्तन गर्ने गरेको फरिद बताउँछन्।

यता चिट्ठा जितेका भरतले ‘म त निकै खुसी छु’ उनले भने- शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच बर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्’ सीईओ सामजीले भने ।