बहराइन := बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे। यस जितसँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकालेको छ।
खेलको २० औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाए । नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो । बहराइनले २ खेलमा ४ अंक जोडेको छ। नेपाल अंकविहीन रहँदै तालिकाको पुछारमा छ। साथै नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ।
पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो । अब नेपालले अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन्




















