कांग्रेस पार्टी राम-राम भन्ने अवस्थामा आइसकेको छ: पूर्व राष्ट्रपति रामवरण यादव।

काठमाडौं := पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसले जनताको बिचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन्। बिहीवार काठमाडौंमा भएको वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन्।

उनले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे। उनले वीपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए।

कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

पूर्व राष्ट्रपति यादवले भने, ‘सुन्नुभएको होला तपाईहरुले समानुपातिकमा टिकट बिक्री भएको छ। वडाको टिकट बिक्री भएको छ। पालिकाको टिकट बिक्री भएको छ। अहिले विधिको बरेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके। जनताको बिचमा जानपनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। राम, राम, राम। कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ।’

कांग्रेसका तत्कालीन नेता रहेका उनी नेपालमा पहिलाे जननिर्वाचित राष्ट्रपति पनि हुन् ।