एजेन्सी :=युएई (दुबई) मा जारी एसिया कप क्रिकेट खेलमा पाकिस्तान र अफगानिस्तानबीच भएको खेलमा नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ।
१३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औं ओभरको पहिलो र दोस्रो बलमा लगातार छक्का प्रहार गर्दै पाकिस्तानको जित पक्का गराए ।
जितसँगै पाकिस्तानले उपाधिका लागि श्रीलंकासँगको भेट पक्का गरेको छ । यता, भारत र अफगानिस्तान भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् । बुधबार राति पाकिस्तानले दिएको १३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका कप्तान बाबर आजम भने आज पनि ब्याटिङमा जम्न सकेनन् । सदाब खानले सर्वाधिक ३६ रन जोडे । यसबाहेक, इफ्तिखर अहमेदले ३०, मोहम्मद रिजवानले २० र आसिफ १६ रन बनाए ।अफगानिस्तानका फजाल्हक फरुकी र फरिद अहमेदले समान तीन विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रनको योगफल तयार पार्यो । अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ३५ रन बनाए । यस्तै, हर्जतुल्लाह जजाईले २१, राशिद खानले १८, रहमनुल्लाह गुर्बजले १७ र करिम जनतले १५ रन बनाए । पाकिस्तानका हरिस रौफले दुई विकेट लिए ।
प्रतियोगितामा श्रीलंकाले यसअघि नै फाइनलको टिकट काटिसकेको छ । श्रीलंकाले सुपर फोरको लगातार दुई खेलमा जित निकाल्दै फाइनलको टिकट काट्यो । अब, बिहीबार भारतले अफगानिस्तानको सामना गर्दा शुक्रबार श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।




















