एजेन्सी (मुम्बई):= भर्खरै बलिउड स्टार आमिर खानको फिल्म लालसिंह चड्ढा नराम्ररी असफल भयो । यस फिल्मबाट धेरै अपेक्षा थियो । तर, नतिजा निराशाजनक आयो । यो आमिरको लगातार दोस्रो फ्लप फिल्म हो। पछिल्लो पटक ठग्स अफ हिन्दुस्तान फ्लप भएको थियो। आमिर खानको सन् २०१७ मा आएको फिल्म सेक्रेट सुपरस्टारमा उनी चरित्र भूमिकामा थिए।
दंगल उनको अन्तिम ब्लकबस्टर हिट थियो। आमिर खानमात्र होइनन् अहिले बलिउडका अन्य ठूला स्टारहरु सलमान खान, शाहरुख खान र अक्षय कुमारजस्ता कलाकारका फिल्म पनि हिट हुने निश्चित हुन छाडेको छ ।१९९० को दशक देखिका यी हिट अभिनेताको स्टारडम घटेको हो कि भन्ने प्रश्न उठेको छ।
ठूला स्टारले अमिताभ बच्चनको बाटो पछ्याउलान् ?
सन् १९९९ मा अमिताभ बच्चन अभिनित तीन फिल्म कोहराम, लाल बादशाह र सूर्यवंशम नराम्ररी फ्लप भए । यी तीनवटै फिल्ममा उनी मुख्य भूमिकामा थिए । एकवर्ष पछि, सन् २००० मा अमिताभ फिल्म मोहब्बतें मा एक चरित्र भूमिकामा देखिए । फिल्म ब्लकबस्टर हिट भयो । त्यसपछि उनका कभी खुशी कभी गम, आंखे, कान्टेजस्ता फिल्महरू आए । ती सबैमा उनी चरित्र भूमिका थिए र फिल्मले राम्रो व्यापार गरे ।
अहिलेका ठूला स्टारको मुख्य भूमिका रहेका फिल्महरु चल्न छाडे भने के तिनले पनि बच्चनले जस्तै चरित्र भूमिका गर्न थाल्लान् ?
अहिलेका ठूला बलिउड स्टारले समय समयमा चरित्र भूमिका पनि निभाउने गरेका छन् । सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म सेक्रेट सुपरस्टार हिट भयो । यस फिल्ममा आमिर मुख्य भूमिकामा नभई क्यारेक्टर रोलमा थिए भने जायरा वसीम मुख्य भूमिकामा थिइन् ।
सन् २०१६ मा प्रदर्शनमा आएका डियर जिंदगीमा शाहरुखको चरित्र भूमिका पनि धेरै रुचाइएको थियो । अघिल्लो वर्ष प्रदर्शनमा आएको अतरगी रेमा अक्षयकुमार सहायक भूमिका मै देखिएका छन् ।
बलिउड स्टारका आगामी फिल्म
यो वर्ष सलमान खानको फिल्म कभी ईद कभी दीवाली प्रदर्शनमा आउँदैछ भने अर्को वर्ष उनको चर्चित फिल्म श्रृङ्खला टाइगरको तेस्रो भागमा देखिँदैछन् । शाहरुख खानको यो वर्ष कुनै फिल्म रिलिज हुने छैन तर अर्को वर्ष तीन फिल्म आउँदैछ ।
सन् २०१८ पछि पाँच वर्षसम्म प्रमुख भूमिकामा नदेखिएका शाहरुख खानको अर्को वर्ष भने जवान, पठान र डंकी एकैवर्ष रिलिज हुँदैछ। त्यस्तै हरेक वर्ष धेरै फिल्ममा देखिने अक्षय कुमारको अर्को वर्ष पनि तीन फिल्म रिलिज हुने समय तालिका छ । त्यसमा रामसेतुबाहेक आय माय गड २ र हेरा फेरि ३ उनका अघिल्ला सफल फिल्मका सिक्वेल हुन् ।




















